तिहारमा सयपत्रीको व्यापार : बागलुङका राहुलले बिक्री गरे पाँच हजार बिरुवा

तिहारमा सयपत्रीको व्यापार : बागलुङका राहुलले बिक्री गरे पाँच हजार बिरुवा

बागलुङ : बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा करिब एक दशकदेखि पुष्प व्यवसायमा सक्रिय छन्। विगतका वर्षहरूमा तिहारका बेला सयपत्री फूल बिक्री गर्दै आएका उनले यो वर्ष भने फूलका बिरुवा मात्रै बिक्री गरेका छन्।

बोहोराले भदौ महिनादेखि अहिलेसम्म करिब पाँच हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेका छन्। उनका अनुसार अहिले धेरै ग्राहकले फुल्न थालेका बिरुवा नै घरमा लगाएर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने गरेका छन्।

“पहिले फूल नै बढी बेचिन्थ्यो, यो वर्ष भने बिरुवाको माग अत्यधिक भयो,” बोहोराले भने, “हाल माग धान्न नसक्दा अन्य ठाउँबाट पनि बिरुवा ल्याएर बिक्री गर्नुपरेको छ।” उनले माटोसहित एक बिरुवा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। 

यस वर्ष मात्रै बिरुवा बिक्रीबाट दुई लाख रुपैयाँभन्दा बढी कारोबार गरेको बताउने बोहोराले वार्षिक करिब १५ लाख रुपैयाँसम्मको पुष्प कारोबार गर्ने गरेको जानकारी दिए। भारतको नयाँ दिल्लीमा ‘बीएससी बोटनी’ अध्ययन गरेर फर्किएका उनले साबिक धौलागिरि क्षेत्रमै पहिलोपटक व्यावसायिक पुष्पखेती थालेका हुन्। हाल उनको नर्सरी साढे चार रोपनी क्षेत्रफलमा फैलिएको छ।

बोहोराको नर्सरीमा सयपत्रीका साथै मौसमी, बहुवर्षीय र टिस्यु कल्चरबाट उत्पादन गरिएका सजावटी फूलहरू पनि छन्। साथै, मेवा, आँप, अम्बा, चेरी, किबी, एभोकाडो र आरुका उन्नत जातका बिरुवा पनि बिक्री हुने गरेको छ।

तीन वर्ष काठमाडौंमा विज्ञान विषय पढाउने शिक्षकको रूपमा काम गरेका बोहोराले पछि गृह जिल्ला फर्केर व्यवसाय थालेका हुन्। उनी भन्छन्, “आफ्नै विषयमा व्यवसाय गर्दा सन्तुष्टि र आम्दानी दुवै पाएको छु । अहिले नर्सरीमा तीन जनालाई रोजगारी दिइएको छ र बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका होटल तथा कार्यालयमा फूल सजावट र दुबो व्यवस्थापनको काम गर्दै आएको छु ।”

बोहोराले साढे तीन रोपनी आफ्नै जग्गामा र थप एक रोपनी वार्षिक ५० हजार भाडा तिरेर प्रयोग गर्दै नर्सरी विस्तार गरेका छन्। उनका पिता चतुरबहादुर बोहोराले पनि व्यवसायमा साथ दिँदै आएका छन्। बोहोरा भन्छन्, “अर्को काम गरेको भए यस्तो सन्तुष्टि र पहिचान नपाउने थिएँ होला, अहिले नामसँगै दाम पनि पाइरहेको छु।”

असोज २५, २०८२ शनिबार २०:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।