राहत बोकेर इलाम पुगे मन्त्री घिसिङ, चाँडो सडक सुचारु गर्न निर्देशन

राहत बोकेर इलाम पुगे मन्त्री घिसिङ, चाँडो सडक सुचारु गर्न निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्।

मन्त्रीसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्गलगायतको टोलीले प्रभावित क्षेत्रहरुको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो।

 गत असोज १७, १८ र १९ गते परेको भीषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताए।

साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुनःस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडि बढाइने समेत बताए।

पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए। उक्त विस्थापित परिवारको अस्थाई आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले सरकार तपाईंहरुको साथमा छ पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने समेत बताए।

असोज २५, २०८२ शनिबार १७:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।