सीसँगको बैठक रद्द नगरेको ट्रम्पको प्रष्टीकरण

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको स्पष्ट पारेका छन्। उनले चीनको नयाँ निर्यात नीतिप्रति असन्तुष्टि जनाउँदै बैठकबारे कुनै ठोस निर्णय नभएको बताए।
शुक्रबार (स्थानीय समय) ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले बैठक रद्द गरेको होइन, तर त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन। म त्यहाँ हुनेछु, र बैठक हुन पनि सक्छ। तर चीनले हालै जे गरेको छ, त्यो साँच्चै अप्रत्याशित कदम हो।’
ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य बनाउने निर्णयलाई “अचानक र चेतावनीविना आएको कदम” भन्दै आलोचना गरे। यसअघि उनले सो निर्णयलाई ‘धेरै शत्रुतापूर्ण’ भनेका थिए र सीसँग भेट्ने कुनै कारण नभएको टिप्पणी पनि गरेका थिए ।
चीनले आफ्नो निर्यात नियन्त्रण सूची विस्तार गर्दै सैन्य तथा अर्धचालक प्रविधिसँग सम्बन्धित वस्तुहरूमा पनि प्रतिबन्ध लगाएको छ। त्यसपछि अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी दिएको हो ।
ट्रम्पले भने, ‘चीनको यो कदमले हामीलाई मात्र होइन, सम्पूर्ण विश्वलाई असर गर्छ । मेरो राष्ट्रपति सीसँग राम्रो सम्बन्ध छ, तर यो स्थिति मैले सिर्जना गरेको होइन । यो उनीहरूको कार्यको प्रतिक्रिया हो, जुन अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले निकै खराब छ।’
उनले भने, ‘यदि चीनले प्रतिबन्धहरू फिर्ता लिन्छ भने, हामी पनि केही करहरू पुनर्विचार गर्न सक्छौँ। त्यसैले मैले नोभेम्बर १ मिति तोकेको हुँ।’
असोज २५, २०८२ शनिबार १४:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।