कप्तान गिलको शतक, वेस्ट इन्डिजविरुद्ध भारतले ५१८ रनमा ‘डिक्लेयर’

काठमाडौं : भारत र वेस्ट इन्डिजबीच दिल्लीमा जारी दोस्रो टेस्ट म्याचमा कप्तान शुभमन गिलले उत्कृष्ट शतक प्रहार गरेका छन्। यसअघि सोही पारिमा यशस्वी जैसवालले पनि शतक बनाएका थिए।
कप्तान गिलको शतकसँगै भारतले आफ्नो पहिलो पारि ५ विकेटको क्षतिमा ५१८ रनको विशाल स्कोरमा घोषणा गरेको छ।
भारतका लागि यशस्वी जैसवालले सर्वाधिक १७५ रनको योगदान दिए भने कप्तान गिलले १२९ रन बनाए। त्यसैगरी, नितिश कुमार रेड्डीले ४३ तथा ध्रुव जुरेलले ४४ रन जोडे।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो दिनको खेल सकिँदा २ विकेट गुमाएर ३१८ रन बनाएको थियो। पहिलो दिन भारतले साई सुदर्शन (८७ रन) र केएल राहुल (३८ रन) को विकेट गुमाएको थियो।
वेस्ट इन्डिजका लागि बलिङतर्फ जोमेल वारिकनले सर्वाधिक तीन विकेट लिए भने कप्तान रोस्टन चेसले एक विकेट हात पारे। उनीहरू बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन्।
दुई खेलको टेस्ट श्रृंखलामा भारत १-० ले अगाडि छ। पहिलो टेस्ट म्याचमा भारतले वेस्ट इन्डिजलाई एक पारि र १४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
असोज २५, २०८२ शनिबार १४:०१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।