अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाको आरोप, तालिबानद्वारा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाको आरोप, तालिबानद्वारा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमा बिहीबार शक्तिशाली विस्फोटपछि तालिबान सरकारले यसका लागि पाकिस्तानी सेनालाई जिम्मेवार ठहराउँदै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

तर, पाकिस्तानले भने अफगानिस्तानमा हवाई हमला गरेको कुरा न त स्वीकार गरेको छ, न त खण्डन नै गरेको छ।

शुक्रबार अफगानिस्तानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एक पटक फेरि पाकिस्तानले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेको छ। पाकिस्तानी सेनाले डुरन्ड रेखा नजिक रहेको पक्तिका प्रान्तको मरघा इलाकाको एक बजारलाई निशाना बनाएको छ र काबुलको हवाई क्षेत्रमा पनि घुसपैठ गरेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो घटना अफगानिस्तान र पाकिस्तानको इतिहासमा कहिल्यै भएको थिएन। यो हिंसात्मक र निन्दनीय छ। हामी आफ्नो सार्वभौमसत्ताको उल्लंघनको कडा निन्दा गर्दछौं र आफ्नो हवाई सीमाको रक्षा गर्नु हाम्रो अधिकार हो।’

मन्त्रालयले पाकिस्तानी सेनालाई चेतावनी दिँदै भनेको छ, ‘स्थिति जतिसुकै गम्भीर भए पनि, पाकिस्तानी सेनाले यसको परिणाम भोग्नुपर्नेछ।’

यसैबीच, भारत भ्रमणमा रहेका तालिबान सरकारका विदेशमन्त्री अमीर खान मुत्तकीले पनि देशको सीमावर्ती क्षेत्रमा हमला भएको पुष्टि गर्दै पाकिस्तानले यस्तो गल्ती दोहोर्याउन नहुने बताएका छन्।

यस विषयमा पाकिस्तानले अहिलेसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। बीबीसी उर्दूका अनुसार, शुक्रबार पेशावरमा आयोजित एक पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीलाई यसबारे प्रश्न सोध्दा उनले स्पष्ट जवाफ दिएनन्।

उनले केवल यति भने, ‘अफगानिस्तानको भूमि पाकिस्तानविरुद्ध आतंकवादका लागि प्रयोग भइरहेको छ। पाकिस्तानका जनताको सुरक्षाका लागि आवश्यक कदमहरू चालिएको छ र भविष्यमा पनि चालिनेछ।’

असोज २५, २०८२ शनिबार १३:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।