ट्रम्प प्रशासनद्वारा हजारौं संघीय कर्मचारी कटौती शुरू

एजेन्सी : अमेरिकामा जारी सरकारी सटडाउन जारी रहेको बीचमा ट्रम्प प्रशासनले डेमोक्र्याटहरूमाथि दबाब सिर्जना गर्न हजारौं संघीय कर्मचारीहरूको कटौती शुरू गरेको छ।
ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयका निर्देशक रसेल भोटले सामाजिक सञ्जालमा एक पोस्टमार्फत घोषणा गरे, ‘आरआईएफ शुरू भएको छ।’ आरआईएफको अर्थ कर्मचारी कटौती हो।
रसेल भोटको कार्यालयका एक प्रवक्ताले कर्मचारी कटौती शुरू भइसकेको र यो ठूलो संख्यामा हुने पुष्टि गरे।शुक्रबारसम्ममा प्रशासनले सातवटा विभिन्न निकायहरूबाट चार हजारभन्दा बढी कर्मचारीहरूलाई हटाउन शुरू गरिसकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक-पटक आफूले सटडाउनलाई संघीय कर्मचारीको आकार घटाउने आफ्नो पुरानो लक्ष्य पूरा गर्ने अवसरको रूपमा प्रयोग गर्न चाहेको बताउँदै आएका थिए।
अमेरिकी कानूनअनुसार, संघीय सरकारले आफ्ना कर्मचारीहरूलाई जागिरबाट निकाल्नुभन्दा कम्तीमा ३० दिनअघि सूचना दिनुपर्ने प्रावधान छ।
के हो सटडाउनको कारण?
अमेरिकी सिनेटमा सरकारी खर्चसम्बन्धी विधेयकमा सहमति जुट्न नसकेपछि यो सटडाउनको स्थिति उत्पन्न भएको हो।
विधेयक पारित हुन नसक्दा सरकारी निकायहरूका लागि बजेट अभाव भएको छ, जसका कारण अत्यावश्यक बाहेकका सबै सरकारी कामकाज ठप्प भएका छन्।
सटडाउनका लागि डेमोक्र्याट र रिपब्लिकन दुवै दलले एक-अर्कालाई दोषारोपण गरिरहेका छन्।
सामान्यतया, सटडाउनको अवस्थामा हजारौं सरकारी कर्मचारीहरूलाई बेतलबी बिदामा पठाइन्छ र अत्यावश्यक सेवाका कर्मचारीहरूले पनि तलब बिना काम गर्नुपर्ने हुन्छ।
असोज २५, २०८२ शनिबार १३:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।