जेन-जी समूहबीचको विवादले राष्ट्रपतिसँगको छलफल सोमबारका लागि सर्यो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिसँग शनिबार विहान १० बजेका लागि बोलाएको छलफल सोमबार दिउँसो तीन बजेसम्मका लागि लागि सरेको छ। पछिल्लो राजनीतिक अवस्थाबारे विघठित प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्ने दलका नेताहरुसँग शुक्रवार छलफल गरेपछि राष्ट्रपतिले शनिबार प्रधानमन्त्रीसँगै जेनजीका प्रतिनिधिसँग छलफल राखेका थिए।
तर छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेन-जी आन्दोलनको नेतृत्वकर्ता दावी गर्नेहरुबीचमै विवाद भएपछि राष्ट्रपती छलफल गर्न इच्छुक भएनन्। राष्ट्रपतिको सचिवालयले स्वास्थ्यका कारण देखाएर छलफल सोमबार तीन बजेका लागि सरेको दाबी गरे पनि मुख्य विषय जेन-जी समूहबीचको विवाद देखियो।
बिहान शीतल निवासमा के भयो?
शनिबार बिहान १० बजे राष्ट्रपती कार्यालयमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिसँग छलफलको समय तय गरिएको थियो। छलफलका लागि सुदन गुरुङ नेतृत्वको एउटा टोलीलाई मात्र भित्र प्रवेश गराइएपछि बाहिर रहेका जेन-जीका अन्य युवाहरूले आफूहरू आधिकारिक प्रतिनिधि भएको दाबी गर्दै शीतल निवास अगाडि नाराबाजी र प्रदर्शन शुरु गरेका थिए।
सरकारमा जेनजी युवाहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ। यही विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका थिए। तर, जेनजीभित्रै विभिन्न समूह र फरक-फरक मागहरू भएकाले आधिकारिक प्रतिनिधि को हो र मन्त्री कसलाई बनाउने भन्ने विषयमा गहिरो विवाद देखियो।
उनीहरूले आफूहरूलाई पनि भित्र जान दिनुपर्ने माग राखेपछि स्थिति तनावपूर्ण बन्यो। यही विवादका कारण बैठक बस्न नसकी सोमबारका लागि सारियो।
मन्त्रीको चर्चासँगै विवाद
जेन-जीका तर्फबाट मन्त्री बन्नेहरुको नाम बाहिरिएसँगै शनिबारको छलफलको तयारीमा त्यसको प्रभाव परेको देखियो। जेन-जी समूहबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमको सोमबार सपथको तयारी रहेको दाबीसहित अनलाइनखवरले शुक्रबार समाचार प्रकाशित गरेको थियो।
समाचार अनुसार श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
यसबारे प्रधानमन्त्रीको तर्फबाट आधिकारिक केही सार्वजनिक भएको छैन। तर विरोध शुरु भइसक्यो। सूचीबारे मिराज ढुंगानाले सामाजिक सञ्जालमा जेन-जी प्रतिनिधीका रुपमा मन्त्री बनाउन लागिएका चार जना कसरी जेन-जीको प्रतिनिधी भए भनेर प्रधानमन्त्री कार्कीलाई प्रश्न सोधेका थिए।
जेनजीको तर्फबाट मन्त्री बन्ने चर्चामा रहेकी टासी ल्हाजोम र बब्लुको पृष्ठभूमी समेत विवादित देखिन्छ। टासीको नागरिकता र ‘फ्री तिब्बत’ अभियानसँगको सम्बन्धलाई लिएर विवाद शुरु भइसकेको छ।
सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको कोटाबाट मन्त्री बन्ने चर्चामा रहेकी टासीमाथि ‘कर्णाली जेनजी’ समूहले उनको नेपाली नागरिकता र ‘फ्री तिब्बत’ अभियानसँगको सम्भावित संलग्नतामाथि प्रश्न उठाउँदै तत्काल छानबिन गर्न माग गर्दै विज्ञप्ती निकालिसकेको छ।
कर्णाली जेनजीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासी ल्हाजोमको नागरिकता विवादित रहेकाले तत्काल छानबिन गर्न, उनको ‘फ्री तिब्बत’ अभियानसँगको संलग्नताबारे स्पष्ट पार्न, जेनजी आन्दोलन र कर्णाली प्रदेशमा उनको योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गर्न र कर्णालीको प्रतिनिधित्वको विषयमा स्थानीय जेनजी समूहसँग गर्न समेत आग्रह गरेकी छन्।
यस्तै, राप्रपाका प्रवक्ता तथा जुम्लाका पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासीको सम्भावित नियुक्तिको तयारीप्रति आपत्ति जनाउँदै टासीलाई तिब्बती शरणार्थीको सन्तान भएको, नक्कली नागरिकता लिएको र ‘फ्री तिब्बत’ अभियानमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्।
हन्ड्रेड्स ग्रुपको नाममा सक्रिय बब्लु क्रियशिल संस्थाको आर्थिक पार्दर्शिता र उनको गतिविधी समेत शंकास्पद देखिन्छ। स्रोतका अनुसार उनी आर्थिक लाभका लागि केही ब्यक्तीको स्वार्थका लागि भाडामा आन्दोलनकारीको रुपमा परिचालित हुने गरेको आरोप छ। उनी कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समूह निकट देखिए।
असोज २५, २०८२ शनिबार ११:३०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।