बारामा छठका लागि माटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, १२ जना घाइते

बारा : बाराको सिम्रौनगढमा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-५ की ६५ वर्षीया शरदा देवी रहेकी छिन्।
घटना सिम्रौनगढ नगरपालिकाको नयाँ भवन दक्षिणतर्फ रहेको ढिस्कोमा आज बिहान भएको हो। माटो खनिरहेको बेला माथिबाट ढिस्को खस्दा उनीहरू पुरिएका थिए।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो। घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको छ। गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
असोज २५, २०८२ शनिबार १०:५६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।