जेन-जी आन्दोलनका घाइतेको उपचारमा संलग्न डा. पवन : छातीमा गोली लागेर धुकधुकी बाँकी ती युवा आँखैअघि अस्ताए

डा. पवन कुमार हमाल ‘एनेस्थेसियोलोजी, क्रिटिकल केयर र दुखाइ व्यवस्थापन’ विशेषज्ञ हुन्। शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्युँताउनु उनको मुख्य काम हो। उनी त्यतिमा मात्रै सीमित छैनन्।
पछिल्लो समय उनी विशेषगरी बिरामीको दुखाइ कम गराउनेतर्फ बढी केन्द्रित भएका छन्। उनै चिकित्सक डा. पवनले चिकित्सकीय पेशाको सिलसिलामा देखेभोगेका अनुभव उकेरासँग यसरी साटेका छन्:
कल्पना नै नगरेको त्यो क्रूर घटना
प्रसङ्ग जेन-जी आन्दोलनबाटै शुरू गरौँ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घाइते र मृतकको अवस्था डा. पवन शब्दमा वर्णन गर्न सक्दैनन्। हुन त चिकित्सकको टिमलाई आन्दोलनका क्रममा परी अस्पतालमा घाइते आउन सक्ने अनुमान त थियो नै। तर, त्यसरी अत्याधिक घाइते होलान् भन्ने अनुमान थिएन।
राष्ट्रिय ट्रमा सेन्टर विभिन्न दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि तयारी अवस्थामा नै रहनुपर्ने अस्पताल हो। त्यसैले घाइतेको उपचारका लागि त्यहाँ केही न केही दैनिक तयारी हुन्छ नै! तर, त्यो दिनको घटना फरक थियो।
२३ गते डा. पवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एउटा वैज्ञानिक आलेखको कार्यशालामा थिए। कार्यशाला सकेर खानपिन गरेर करिब एक बजेतिर डा. पवन ट्रमा सेन्टरतिर आउँदै थिए। त्यही बीचमा उनले गोली चलेको खबर सुने।
सिभिल अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाको चाप धेरै भइसकेकाले सिभिलले ट्रमा सेन्टरमा घाइते पठाउँदैछ भन्ने थाहा भइसकेको थियो। त्यसैले ट्रमा सेन्टरमा चिकित्सकको टिम घाइतेको उपचारका लागि तयारी अवस्थामा बस्यो।
डा. पवन छिटोछिटो गर्दै हिँडेर ट्रमा सेन्टरको आकस्मिक कक्षमा छिरे। दिउँसो करिब दुई बजेतिर एकैचोटी ठूलो संख्यामा घाइतेलाई आकस्मिक कक्ष पुर्याइयो।
एकै छिनमा दायाँतर्फको छातीमा गोली लागेका एक जना युवालाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा देखे उनले। गोली लागेर घाइते भएका ती युवा अचेत अवस्थामा थिए। उनको अलि-अलि धुकधुकी मात्रै बाँकी थियो। ती युवालाई बचाउन सकिन्छ कि भनेर डा. पवन लगायत चिकित्सकको टिमले हर कोसिस गर्यो। तर, चिकित्सकको टिमको केही लागेन।
गोली लागेका ती युवाले हेर्दाहेर्दै प्राण त्यागे। डा. पवन पनि विक्षिप्त बने। उनलाई याद भएअनुसार छातीमा गोली लागेर मृत्यु भएका ती करिब २५ वर्षका देखिने युवा कलेज ड्रेसमा रक्ताम्य अवस्थामा थिए।
गोली लागेका ती युवालाई बचाउन नसक्दा डा. पवन लगायत चिकित्सकको टिम केही निराश बन्यो तर निराश बनेर बस्ने अवस्था थिएन। त्यो बेलासम्म ट्रमाको आकस्मिक कक्ष घाइतेले भरिइसकेको थियो। गोली लागेर क्षतविक्षत भएका घाइतेहरूलाई आकस्मिक कक्षमा पुर्याइँदै थियो। अवस्था भयावह थियो।
ती युवालाई बचाउन नसकेपछि डा. पवन लगायत चिकित्सकको टिम कत्ति पनि ढिला नगरी अन्य घाइतेलाई बचाउन सक्रिय भयो। आकस्मिक कक्षमा पुर्याइएका घाइतेको त्यो क्रूर र दर्दनाक दृश्य देखेर डा. पवन लगायत चिकित्सकको टिम नै आत्तियो।
घाइते मात्रै होइन, गोली लागेर मृत्यु भएका युवालाई पनि प्राण बाँकी छ कि भनेर अस्पताल पुर्याएको देखे उनले। हेर्दा हेर्दै ट्रमाको आकस्मिक कक्षमा गोली लागेर रक्ताम्य अवस्थामा पुर्याइएका घाइते र मृतकले भरिएर रणमैदानजस्तै बन्यो। हेर्दा हेर्दै कसैले त्यहीँ प्राण त्यागे।
कसैलाई दौडाउँदै अप्रेसन थिएटरमा लगेर शल्यक्रिया गरी बचाइयो। तुरुन्तै अप्रेसन गर्नुपर्ने घाइतेले अप्रेसन थिएटर पनि भरिहाल्यो। घाइतेको अप्रेसन गर्न भ्याइनभ्याइ भयो। घाइतेहरूको अवस्था हेर्दा शरीरका विभिन्न भागमा जहाँतहीँ गोली लागेको देखिन्थ्यो।
‘खुट्टामा मात्रै कहाँ हुनु, टाउको, छाती, पेट, हात जताततै गोली लागेका घाइते कति थिए कति’, डा. पवनले भने।
त्यो कहालीलाग्दो अवस्थामा चिकित्सकको टिमले घाइते बचाउन हर कोसिस गरिरह्यो। त्यो दिन मध्यरातको १२ बजेसम्म अस्पतालमा घाइतेको उपचार गरेपछि घाइतेको चाप अलि कम भयो। त्यसपछि डा. पवन घर फर्किएर खानपिन गरेर सुते।
२४ गते पनि गोली लागेकालाई उपचार गर्दा
२४ गते बिहान सबेरै कर्फ्यू छिचोल्दै डा. पवन पुनः ट्रमा सेन्टरमा ड्युटी पुगे। अघिल्लो दिनका घाइतेको उपचार गर्नु त छँदै थियो, भोलिपल्ट पनि गोली लागेका घाइतेलाई उपचारका लागि पुर्याइयो।
दोस्रो दिन पनि अधिकांश गोली लागेका युवायुवतीहरूलाई नै अस्पताल पुर्याइएको थियो। तर, युवतीको तुलनामा घाइतेमध्ये अधिकांश युवा नै थिए। त्यो दिन पनि विध्वंस नै मच्चिएको थियो। आन्दोलनका क्रममा गोली चल्नुका साथै सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत सरकारी र निजी संरचनाहरू जलाएर ध्वंस पारियो। स्थिति भयावह बन्यो।
२४ गते पनि राति करिब १२ बजेसम्म घाइतेको उपचार गरेर डा. पवन थकित भएर घर फर्किए। अनि खानपिन गरेर सुते। तर, न राम्रोसँग खाना रुच्यो न त निद्रा नै लाग्यो। जीवनमा कहिल्यै आँखै अगाडि नदेखेको र नभोगेको ती दुई दिनको कहालीलाग्दो घटनाले उनको पनि मन आत्तिएको थियो।
अब के हुने हो भन्ने डर र चिन्ता उत्तिकै थियो। त्यो घटना सम्झँदा उनलाई फिल्ममा झैँ भुटुटु गोली हानेर मान्छे मारेको अनुभूति भयो। उनको कामना छ- त्यस्तो क्रूर घटना अब कहिल्यै देख्न नपरोस्।
कर्णालीको तिरमा ढुङ्गामा सुताएर भ्यासेक्टोमी गर्दा...
अब जुम्ला अस्पतालमा काम गर्दाको प्रसङ्गको कुरा गरौँ। जुम्ला जिल्ला अस्पतालमा काम गर्दाको एउटा प्रसङ्ग डा. पवन कहिल्यै भुल्दैनन्।
प्रसङ्ग करिब १३ वर्ष अघिको हो। डा. पवनको टिम भ्यासेक्टोमी गर्ने सम्बन्धी स्वास्थ्य शिविर लिएर गाउँतिर गएका थिए। कहिले घोडा चढेर त कहिले कयौँ दिन हिँड्दै स्वास्थ्य शिविर लिएर दुर्गमका गाउँगाउँ पुगेका छन्, उनी।
डा. पवन एक दिन दुर्गम मुगुमा स्वास्थ्य शिविर सकेर रारा कर्णालीको तिरैतिर हिँड्दै मुगुको सदरमुकाम गमगढीतर्फ फर्कँदै थिए।
त्यहाँ एक जना पुरुष हस्याङ फस्याङ गर्दै पुगेछन्। अनि बाटोमै रोकेर ती पुरुषले ‘म त डाक्टरसापलाई देखाउन आएको’ भनेछन्। ती पुरुषका ६/७ जना सन्तान भइसकेका रहेछन्। सायद श्रीमती पनि तीन जना थिए।
ती पुरुषलाई गाउँका मान्छेले बल्लबल्ल मनाएर भ्यासेक्टोमी गर्न पठाएका रहेछन्। डोल्पाबाट हिँडेका ती पुरुष दुई दिन हिँडेर त्यहाँ पुगेका रहेछन्। त्यत्रो हिँडेर उनलाई भेटेका ती पुरुषलाई फर्काउन मन लागेन। तर, त्यो बाटोमा कहाँ भ्यासेक्टोमी गर्ने भन्ने उनलाई समस्या भयो।
डा. पवनले यसो हेरे। कर्णालीको तिरमा खोलाको छेउमा एउटा मान्छे सुत्न मिल्ने खाटजस्तो मिलेको ढुङ्गा देखे। त्यसपछि बाटोमै भाँडामा तातोपानी तताएर त्यो ढुङ्गालाई तातोपानीले सफा गरे। अनि ती पुरुषलाई त्यही ढुङ्गामा सुताएर भ्यासेक्टोमी गरिदिए।
भ्यासेक्टोमी गरेपछि ती पुरुष घरतिर फर्के। अनि डा. पवनको टिम पनि आफ्नो गन्तव्यतर्फ लाग्यो। ढुङ्गामाथि ती पुरुषलाई सुताएर भ्यासेक्टोमी गरेको त्यो घटना अझै डा. पवनको मानसपटलमा ताजै छ।
बाँच्दिनन् भनेर बिदा गरिएकी गर्भवती बाँचेपछि...
जुम्लामा नै एक जना सुत्केरीलाई बचाएको प्रसङ्ग पनि डा. पवन कहिल्यै भुल्दैनन्। जुम्ला अस्पतालमा सुत्केरी हुन नसकेकी एक जना महिलालाई पुर्याइएछ। त्यो बेला सुत्केरी हुन नसकेपछि घर परिवार तथा समाजले बाँच्ने आशा नै मारेछ रे।
त्यसैले ती महिलालाई पनि ‘अब बाँच्दिनन्’ भनेर माया मारेर घर परिवारले निधारमा राताम्य अबिर र माला लगाइदिएर घरबाट बिदा गर्दै बोकेर अस्पताल पुर्याएछन्। “यो बाँचेर फर्किन्न, त्यही पनि अस्पतालसम्म लैजाऊँ” भनेर अस्पतालसम्म पुर्याएछन्। त्यो बेला भने अस्पतालमा एक जना एमडीजीपी चिकित्सक पनि थिए।
अस्पताल पुर्याइएकी ती महिला सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन्। रक्तस्राव भइरहेको थियो। अवस्था जटिल बनिसकेको थियो। डा. पवन र ती एमडीजीपी चिकित्सकले ती महिलाको शल्यक्रिया थाले।
शल्यक्रिया थाल्नासाथ पेटमा बच्चाको टाउकाको खप्पर देखियो। पाठेघर फुट्न मात्रै बाँकी रहेछ। केही बेर मात्रै ढिला भए पाठेघर फुटेर आमा र बच्चा दुवैको ज्यान जाने अवस्था थियो।
त्यसैले चिकित्सकको टिमले हतार हतार गरेर शल्यक्रिया गरी ती महिलाको गर्भको बच्चा निकाले। महिलालाई रगत चढाइयो। केही दिनको औषधि उपचारपछि ती महिला आफ्नो नवजात सन्तानलाई च्यापेर घर फर्किइन्। बाँच्दिनन् भनेर बिदा गरिएकी ती महिला बाँचेपछिको खुसीको क्षण नै उल्लासमय बन्यो।
त्यो बेला ती महिला र बच्चा बचाइदिएबापत ती महिलाका परिवार, आफन्त र गाउँलेले ज्यान बचाइदिने चिकित्सकको टिमलाई फूल माला र अबिरले सम्मान गरेको हिजो जस्तो लाग्छ डा. पवनलाई।
भैँसीले हानेर आन्द्रा निस्किएका बालक धन्य बाँचे
त्यसैगरी मुगुबाट उपचारका लागि जुम्ला अस्पताल पुर्याइएका करिब १२ वर्षका एक जना बालकको उपचार गरेको प्रसङ्ग पनि डा. पवन कहिल्यै भुल्दैनन्। बालकलाई भैँसीले हानेर आन्द्रा नै बाहिर निस्किएछ।
ती बालकलाई स्थानीय एचएले प्राथमिक उपचार गरेर जुम्ला अस्पताल पठाएछन्। मुगुबाट तीन दिन बोकेर ती बालकलाई जुम्ला अस्पताल पुर्याइएको रहेछ। धन्य ती बालक जीवितै अस्पताल पुगेछन्।
स्रोत र साधनको अभावका बाबजुद जोखिम मोलेरै डा. पवन र एक जना चिकित्सकले ती बालकको शल्यक्रिया शुरू गरेर आन्द्रा र भुँडी सिलाइयो। त्यो दिन जोखिम मोलेर भए पनि त्यहाँ ती बालकको शल्यक्रिया नगरिएको भए मृत्यु करिब निश्चित थियो।
करिब एक महिनामा ती बालक बाँचेर घर फर्के। केही समयपछि ती बालक भेट्न समेत आएको डा. पवनले सुनाए। बालकको ज्यान बाँचेको देखेर उनी निकै खुसी मात्रै होइन, भावविह्वल समेत भए।
छनोटमा बेहोस बनाएर ब्युँताउने विषय
पवन म्याग्दीको हालको रघुगंगा गाउँपालिका वडा नम्बर-२ मा २०३८ मा जन्मिएका हुन्। उनका बुवा जागिरको सिलसिलामा सदरमुकाम बेनी बजार बसेका थिए। त्यसैले उनी पाँच वर्षसम्म त्यहीँ हुर्किए। त्यसपछि उनी पोखरामा बसेर पाँच कक्षासम्म पढे।
६ कक्षापछि भने उनी काठमाडौंको फ्युचर स्टार हाइस्कुलमा पढे। त्यहीबाट २०५५ मा एसएलसी गरेका उनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आईएस्सी पढे।
पवनलाई सानैबाट डाक्टर बन्ने इच्छा भएकाले सोही अनुसार एमबीबीएस अध्ययनका लागि तयारी गरे अनि छनोट परीक्षामा उत्तीर्ण भई काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसमा सन् २००१ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। सन् २००७ मा उनको एमबीबीएस अध्ययन सकियो।
सरकारी जागिरमा प्रवेश
डा. पवनले विदेश जाऊँ कि भन्ने पनि सोचेका थिए। तर, गएनन्। त्यसैले डा. पवन लोकसेवा परीक्षा मार्फत २०६६ मा मेडिकल अधिकृत आठौं तहको सरकारी स्थायी जागिरमा प्रवेश गरे। डा. पवन पहिलो पोस्टिङ भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे।
करिब एक वर्ष काम गरेपछि डा. पवन पोस्टिङ भएर जुम्ला जिल्ला अस्पताल पुगे। शुरूमा त उनलाई पनि दुर्गम जान मन लागेको थिएन। तर, उनी त्यहाँ गएर काम गरेपछि भने प्रत्येक चिकित्सक एक पटक दुर्गममा गएर काम गर्नुपर्ने रहेछ भन्ने महसुस भयो। जुम्लामा उनले करिब दुई वर्ष काम गरे।
डा. पवनलाई थप अध्ययन त गर्नु नै थियो। त्यसैले जुम्लापछि उनी चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सन् २०१२ मा भर्ना भएर ‘एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर’ विषयमा एमडी अध्ययन शुरू गरे। सन् २०१६ मा उनले एमडी अध्ययन सके। उनले यो अध्ययन सरकारी छात्रवृत्ति कोटामा नै गरेका हुन्।
एमडी अध्ययन सकेताका डा. पवन राष्ट्रिय ट्रमा सेन्टरको एनेस्थेसिया विभागमा कार्यरत छन्। उनले सन् २०२२ मा भारतबाट दुखाइ व्यवस्थापन सम्बन्धी ‘इन्टरभेन्सनल पेन म्यानेजमेन्ट’ विषयमा एक वर्षे फेलोसिप गरे। यो दुखाइ ठिक गर्ने विशिष्टीकृत तहको अध्ययन हो।
भारतमा सिकेको दुखाइ व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप सिकेर उनी नेपाल फर्किए। त्यसैगरी क्यानडा पुगेर टोरन्टो युनिभर्सिटीमा रिजनल एनेस्थेसियाको ज्ञान तथा सीप पनि सिके। यी विषय विज्ञका रूपमा काम गर्नु उनको दैनिकी हो। हाल डा. पवन न्याम्समा सिनियर कन्सल्टेन्ट, सह-प्राध्यापक र सहायक-डिन (एकेडेमिक) का रूपमा समेत कार्यरत छन्।
त्यतिमात्रै होइन, उनका ६० भन्दा धेरै वैज्ञानिक अनुसन्धानात्मक आलेख विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित छन्। त्यसैगरी डा. पवन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्रकाशित हुने जर्नलको कार्यकारी सम्पादकका रूपमा समेत कार्यरत छन्। विभिन्न जर्नलमा सम्पादकको रूपमा काम गरेको समेत उनीसँग अनुभव छ।
डा. पवन र उनको टिमले कोभिडको महामारीको समयमा कम आय भएका मुलुकमा न्यूनतम शुल्कमा ‘भिडियो ल्यारिन्जोस्कोप’ को नवप्रवर्तनको विषय ‘ल्यान्सेट’ जर्नलमा प्रकाशित भएको उनले सुनाए। जुन आलेख अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा समेत महत्त्वपूर्ण मानिएको उनले अनुभव सुनाए।
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संगोष्ठीहरूमा उनले कार्यपत्र प्रस्तुत गरेका छन्। उनले कानुनी विषय एलएलबी समेत अध्ययन गरेका छन्।
उनले ‘सोसाइटी अफ एनेस्थेसिया अफ नेपाल’ को सह-सचिवको भूमिकामा समेत काम गरे। एक दशकदेखि वैज्ञानिक अनुसन्धान र शैक्षिक काममा समेत सक्रिय डा. पवनलाई शिक्षा मन्त्रालयले ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ पुरस्कार-२०८१ बाट समेत सम्मानित गर्दा खुसी लागेको उनी सम्झन्छन्।
असोज २५, २०८२ शनिबार ०९:५९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।