काठमाडौं महानगरका विद्यालयमा आँखा जाँच, हरेक १० मध्ये १ विद्यार्थीमा दृष्टि सम्बन्धी समस्या

काठमाडौं महानगरका विद्यालयमा आँखा जाँच, हरेक १० मध्ये १ विद्यार्थीमा दृष्टि सम्बन्धी समस्या

काठमाडौं :  काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक १० मध्ये १ विद्यार्थीमा दृष्टि सम्बन्धी समस्या देखिएको छ। महानगरको स्वास्थ्य विभागले हालै गरेको एक परीक्षणमा करिब ११ प्रतिशत विद्यार्थीमा यस्तो समस्या पाइएको हो।

नेपाल नेत्र ज्योति संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा महानगरले ११,६३७ विद्यार्थीको आँखा जाँच गरेको थियो। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई समेटिएको उक्त कार्यक्रममा जाँच गरिएकामध्ये १,२६० जनामा नजिक वा टाढाको वस्तु स्पष्ट देख्न नसक्ने जस्ता समस्या पाइएको हो।

त्यसैगरी, ३०४ जना (करिब २.६ प्रतिशत) विद्यार्थीमा आँखासम्बन्धी अन्य रोगहरू पनि भेटिएको स्वास्थ्य विभागले जनाएको छ। परीक्षणपछि आवश्यक विद्यार्थीहरूलाई ११ प्रकारका आधारभूत औषधि निःशुल्क वितरण गरिएको थियो।

विद्यालय उमेरमै बालबालिकाको दृष्टि जोगाउन, आँखा स्वास्थ्यबारे सचेतना फैलाउन र सामान्य समस्याको तत्काल उपचार गर्न यो कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ। परीक्षणको नतिजाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, तथ्याङ्कमा आधारित नीति बनाउनुपर्ने र शिक्षकहरूलाई पनि सामान्य दृष्टिदोष पहिचान गर्न सक्ने तालिम दिनुपर्ने आवश्यकता देखाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर दुई करोडभन्दा बढी मानिसमा दृष्टिदोष वा अन्धोपन छ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसको सान्दर्भिकतालाई काठमाडौं महानगरको यो तथ्याङ्कले पनि उजागर गरेको छ।

असोज २५, २०८२ शनिबार ०८:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।