बाढीले अवरुद्ध बीपी राजमार्ग १९ स्थानमा डाइभर्सन बनाएर पूर्ण सञ्चालनमा

बाढीले अवरुद्ध बीपी राजमार्ग १९ स्थानमा डाइभर्सन बनाएर पूर्ण सञ्चालनमा

काभ्रे : गत साताको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग आज (शनिबार) बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

डिभिजन सडक कार्यालय, भक्तपुरले काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न १९ स्थानमा डाइभर्सन निर्माण गरेपछि राजमार्गमा यातायात सुचारु भएको हो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, रातको समयमा समेत कामलाई निरन्तरता दिँदै शुक्रबार साँझसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा अस्थायी ‘ट्रयाक’ खोलिएको थियो।

‘ट्रयाक खोलेपछि हामीले केही गाडी गुडाएर परीक्षण गर्यौँ। साँघुरो देखिएका स्थानमा राति नै सुधार गरेर आज बिहानैदेखि राजमार्ग पूर्ण सञ्चालनमा ल्याएका हौँ’, योगेशले भने।

मंगलबारदेखि शुरू भएको निर्माण कार्यमा करिब दुई दर्जन मेसिन प्रयोग गरिएको थियो।

राजमार्गअन्तर्गत काभ्रे खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन बनाइएको हो।

काभ्रेको नमोबुद्ध-६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्मका कटुञ्जे, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका विभिन्न स्थानमा खोला फर्काएर डाइभर्सन निर्माण गरिएको छ। रोशी खोलाको बाढीले मात्रै करिब चार किलोमिटर सडक कटान गरेको थियो।

राजमार्ग खुलाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। बिहीबार क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्दै उनले रातदिन काम गरेर शुक्रबार साँझसम्म राजमार्ग सुचारु गर्न सडक विभागलाई निर्देशन दिएका थिए।

पूर्वी नेपाल जोड्ने छोटो दूरीको यो राजमार्ग दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने मुख्य मार्ग हो। कार्यालयले क्षतिग्रस्त खण्डको स्थायी समाधानका लागि चार खण्डमा ठेक्का प्रक्रियासमेत अघि बढाइसकेको जनाएको छ।

असोज २५, २०८२ शनिबार ०८:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।