उच्च अदालत तुलसीपुरको सेवा आइतबारदेखि आंशिक रूपमा सुचारु हुने

उच्च अदालत तुलसीपुरको सेवा आइतबारदेखि आंशिक रूपमा सुचारु हुने

दाङ : जेन-जी आन्दोलनका क्रममा भएको आगजनीका कारण सेवा अवरुद्ध भएको उच्च अदालत तुलसीपुरले आइतबारदेखि आंशिक रूपमा कामकारबाही सुचारु गर्ने भएको छ।

अदालतले तत्कालका लागि केही अत्यावश्यक सेवाहरू मात्र सञ्चालन गर्ने तयारी गरेको हो।

अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार, पहिलो चरणमा मुद्दा दर्ता, रिट तथा निषेधाज्ञाजस्ता निवेदन लिने र त्यसमाथि सुनुवाइ गर्ने कार्य सुरु हुनेछ।

यसअन्तर्गत मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गरी सुनुवाइ गरिनेछ।

आगजनीको घटनापछि अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन मात्र लिँदै आएको थियो।

यद्यपि, अदालतले पूर्ण रूपमा भने सेवा सुरु गर्ने छैन। रजिष्ट्रार बास्कोटाले चालु अवस्थामा रहेका अन्य मुद्दाहरूको नियमित सुनुवाइ र नयाँ पुनरावेदन दर्ता गर्ने कार्य तत्काल सुरु नहुने जानकारी दिए।

उनका अनुसार, पूर्ण सेवा प्रवाह सुचारु गर्नुअघि अर्को सूचना प्रकाशन गरेर जानकारी गराइनेछ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि नियमित कामकारबाही प्रभावित भएको थियो।

असोज २५, २०८२ शनिबार ०८:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।