मलाई प्रशिक्षकबाट हटाएपछि नेपालले जितेको छैन : अब्दुल्लाह अल्मुताइरी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूलाई पदबाट हटाएपछि नेपालको फुटबल स्तर खस्किएको र टोलीले जित हासिल गर्न नसकेको बताएका छन्।
हाल श्रीलंका राष्ट्रिय टोलीको प्रशिक्षक रहेका अल्मुताइरीले एएफसी एसियन कप छनोटमा तुर्कमेनिस्तानलाई पराजित गरेपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाल र अफगानिस्तान दुवै देशले आफूलाई हटाएपछि प्रगति गर्न नसकेको जिकिर गरे।
आफ्नो कार्यकाल र त्यसपछिको अवस्थाबारे तुलना गर्दै उनले भने, ‘नेपालमा उनीहरूले मलाई हटाए टिमले अझ राम्रो गर्नेछ भनेका थिए। तर मलाई हटाएको चार वर्ष भइसक्यो, उनीहरूले अहिलेसम्म जितेका छैनन्।’
कुवेती प्रशिक्षक अल्मुताइरीको कार्यकाल खेलाडी र अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको टकरावका कारण सधैँ चर्चामा रह्यो। सन् २०२२ मा राष्ट्रिय टोलीका १० जना सिनियर खेलाडीले प्रशिक्षकको कार्यशैलीमाथि प्रश्न उठाउँदै बन्द प्रशिक्षण छाडेका थिए। खेलाडी र प्रशिक्षकबीचको यो विवादले नेपाली फुटबललाई दुई ध्रुवमा बाँडेको थियो।
विवाद समाधान गर्न एन्फाले गठन गरेको छानबिन समितिले अल्मुताइरीलाई दोषी ठहर नगरे पनि उनको व्यवहार र खेलाडीसँगको सम्बन्धमा सुधार ल्याउनुपर्ने सुझाव दिएको थियो। तर, खेलाडीसँगको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन, जसको परिणामस्वरूप उनले पछि राजीनामा दिए।
पत्रकार सम्मेलनमा अल्मुताइरीले सफलताका लागि खेलाडीभन्दा पनि ‘टिम ग्रुप’ अर्थात् टोलीको एकता र भावना महत्त्वपूर्ण हुने बताए।
उनले भने, ‘यो खेलाडीको बारेमा होइन, यो टिम ग्रुपको बारेमा हो। तिनै खेलाडीहरू पूर्व प्रशिक्षकसँग हुँदा जित्न सकेका थिएनन्।’
आफ्ना आलोचक र मिडियाप्रति आक्रामक रूपमा प्रस्तुत भएका अल्मुताइरीले आफूमाथि आक्रमण नगर्न चेतावनी दिए।
उनले भने, ‘कृपया मलाई आक्रमण गर्न बन्द गर्नुहोस्, किनभने तपाईंहरूले केही पाउनुहुने छैन। म भोलि नै अर्को देश जान सक्छु, तर त्यसपछि तपाईंहरू फेरि हार्न थाल्नुहुनेछ र भन्नुहुनेछ- हामीले अब्दुल्लाहलाई किन गुमायौँ?’
उनले आफ्नो दाबीलाई पुष्टि गर्न नेपाल र अफगानिस्तानको उदाहरण दिँदै भने, ‘तपाईंहरू नेपाललाई सोध्न सक्नुहुन्छ, तपाईंहरू अफगानिस्तानलाई सोध्न सक्नुहुन्छ।’
अल्मुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेर ऐतिहासिक सफलता हात पारेको थियो। तर, उनको आक्रामक र विवादास्पद स्वभावले गर्दा उनको नेपाली फुटबलको यात्रा सुखद अन्त्य हुन सकेन।
असोज २५, २०८२ शनिबार ०७:५५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।