‘जेनजी’ प्रदर्शनका तोडफोड आरोपी ११ जना धरौटीमा छुट्नासाथ पुनः पक्राउ

‘जेनजी’ प्रदर्शनका तोडफोड आरोपी ११ जना धरौटीमा छुट्नासाथ पुनः पक्राउ
फाइल तस्बिर

काभ्रेपलाञ्चोक : भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका ११ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको आदेशमा धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, धुलिखेलका अनुसार अदालतबाट आठ र प्रशासन कार्यालयबाट तीन जना धरौटीमा छुटेका थिए। उनीहरूलाई रिहा भएलगत्तै पुनः पक्राउ गरी इलाका प्रहरी कार्यालय, बनेपाले 'अभद्र व्यवहार'मा नयाँ मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा अनुसन्धानका लागि शुक्रबार म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरू प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनीमा संलग्न थिए। तीमध्ये एक जना राजधानीको एक बैंकमा भएको नगद तथा सुन लुटपाटमा समेत संलग्न रहेको खुलेको छ।

यसैबीच, प्रहरीले सोही प्रदर्शनको समयमा विभिन्न कारागारबाट भागेका ३७ जना कैदीबन्दीलाई काभ्रेबाट पक्राउ गरी सम्बन्धित कारागार चलान गरिसकेको छ। पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारागारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना थिए।

उनीहरूमध्ये कर्तव्य ज्यान मुद्दाका १२, जबरजस्ती करणीका नौ, लागुऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक र ‘ओभर स्टे’का एक जनालाई सम्बन्धित कारागारमा फिर्ता पठाइएको हो।

जेन-जी प्रदर्शनका क्रममा काभ्रेका चार जनाको काठमाडौंमा मृत्यु भएको थियो।

असोज २५, २०८२ शनिबार ०७:२१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।