निर्वाचनमा भाग लिन कांग्रेस एमालेका नेताले सर्त राख्दा माओवादी र रास्वपा सर्तबिनै राजी

निर्वाचनमा भाग लिन कांग्रेस एमालेका नेताले सर्त राख्दा माओवादी र रास्वपा सर्तबिनै राजी

काठमाडौं : आगामी निर्वाचनको वातावरण सहज बनाउन दल र अन्तरिम सरकारबीच संवाद खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले राखेको सर्वदलीय बैठकमा सहभागी दलमध्ये माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचनप्रति सकारात्मक देखिए।

नेपाली कांग्रेस र एमालेका नेताहरूले निर्वाचन अस्वीकार गरेनन्। तर सरकारको नियत, शान्ति सुरक्षाको अवस्था र सरकारको वैधानिकतामा प्रश्न उठाउँदै निर्वाचनमा सहभागी हुनेबारे न हुन्छ भने न हुन्न नै।

उनीहरूले लोकतान्त्रिक दल निर्वाचनबाट नभाग्ने तर सरकारले विश्वासको वातावरण बनाउन सक्नुपर्ने धारण राख्दा माओवादी केन्द्रका नेताहरूले पार्टी आगामी निर्वाचनमा सहभागी हुनेबारे सकारात्मक रहे पनि शान्ति सुरक्षा लगायतका पक्षमा सुधार गर्न सरकार सक्रिय हुनुपर्ने धारणा राखेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि निशर्त आगामी निर्वाचनमा सबै दलहरू सहभागी हुनु पर्ने र आफ्नो दल निर्वाचनमा भाग लिन तयार रहेको धारणा राखेका थिए।

शीतल निवासमा भएको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र  सचिव बर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य लगायतका दलका प्रतिनिधि सहभागी थिए।

भदौ २३ र २४ को जेन-जी पुस्ताको आन्दोलनकोक्रममा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपति पौडेलले ६ महिनाभित्र निर्वाचन गर्ने प्रयोजनसहित पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। कार्की नेतृत्वको सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुबीच संवादको वातावरण बनाउन शुक्रवार पौडेलले सर्वदलीय बैठक राखेका थिए।

सर्वदलीय बैठक

असोज २४, २०८२ शुक्रबार २२:५४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।