एमाले सचिवालय बैठक : नेतृत्व छाड्ने मुडमा देखिएनन् ओली, परिवर्तन महाधिवेशनबाट मात्रै सम्भव

भक्तपुर : एमालेको ५८औँ सचिवालय बैठकले पार्टी नेतृत्वको पुस्तान्तरण र एकता सुदृढीकरणका लागि चाँडै महाधिवेशन गर्ने तयारी थालेको छ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, “पार्टीको एकतालाई मजबुत बनाउन, नेतृत्व हस्तान्तरण गर्न र पुस्तान्तरणको प्रक्रिया अघि बढाउन महाधिवेशन अपरिहार्य छ। ती सबै प्रश्नको जवाफ महाधिवेशनमार्फत खोजिनेछ।”
उनका अनुसार बैठकले हाल उठेका सबै प्रश्न र चुनौतीहरूको समाधान महाधिवेशनबाट खोज्दै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने निष्कर्ष निकालेको छ।
त्यसैगरी, बैठकमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को समीक्षा पनि गरिएको थियो। ज्ञवालीले भने, “जेनजी युवाहरूले उठाएका मागहरू स्वाभाविक थिए। उनीहरूले आन्दोलन शान्तिपूर्ण र सीमित दायरामा राख्ने बताएका थिए, तर त्यसो हुन सकेन।”
उनले सरकारले राष्ट्रिय एकता कायम गर्न, राजनीतिक दलहरूबीच संवाद र सहकार्य बढाउन, र देशलाई साझा उद्देश्यमा उभ्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
एमाले सचिवालयको बैठक भोलि शनिबार पुनः बस्ने तय भएको छ।
असोज २४, २०८२ शुक्रबार २२:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।