राष्ट्रपतीले बोलाएको बैठकमा प्रधानमन्त्री कार्कीलाई एमाले-कांग्रेस नेताको प्रश्न ‘सुरक्षाकर्मी फिर्ता लिएर नेता मार्न खोजेको हो?’

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल राखेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेका नेताहरूले सरकारमा रहेकाहरूले आफ्नो मान्छे उचालेर अराजकता फैलाउने अनि दलका नेतालाई राज्यले दिएको सुरक्षा फिर्ता गराउने काम गरेको भन्दै आपत्ति जनाए।
निर्वाचनका लागि सरकार र दलहरुबीच सहजीकरणको लागि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवासमा राखेको बैठकमा कांग्रेस-एमालेका नेताहरुले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरे “आफ्ना मान्छे उचाल्ने अनि राज्यको सुरक्षाकर्मी पनि फिर्ता लिएर नेताहरूको हत्या गर्न खोजेको हो?”
गृह मन्त्रालयले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) विपरीत खटिएको सुरक्षाकर्मी फिर्ता गराएको थियो।
गृहको निर्देशन अनुसार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधव कुमार नेपाल र झलनाथ खनालको सुरक्षामा कार्यविधि भन्दा बढी परिचालित सुरक्षाकर्मी फिर्ता भइसकेका छन्।
एमाले महासचिव शंकर पोखरेलले पोखरेले अन्तरिम सरकारको प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई सुरक्षा जोखिम बढिरहेको बेलामा सुरक्षाकर्मी फिर्ता गर्ने नियत ठिक नभएको भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्री कार्की मौनै रहिन्।
गृहमन्त्री अर्यालले भने ‘तपाईँहरूले बनाएको कार्यविधि अनुसारै सुरक्षाकर्मी फिर्ता भएको हो। आवश्यक परे पुन खटाउन सकिन्छ’ भन्ने जवाफ दिएको बैठक स्रोतले बतायो।
बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि सुरक्षाकर्मी फिर्ता लिने सरकारको निर्णयको आलोचना गरेका थिए।
सरकारले सुरक्षाकर्मी फिर्ताको निर्णय गरेसँगै पार्टीका पूर्व लडाकु र वाइसिएलको सुरक्षा घेरामा हिँड्न थालेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तर्फबाट बैठकमा सहभागी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुनले भने सुरक्षाको विषयमा त्यति चासो दिएनन्।
कसको कति फिर्ता भए ?
पूर्वप्रधानमन्त्रीको हैसियतमा दुई जना प्रहरी पाउने भए पनि ओलीको सुरक्षामा प्रहरी निरीक्षकको कमान्डमा १६ जना प्रहरी खटिएका थिए। दुई जना छाडेर बाँकी सबैलाई फिर्ता गरिएको छ। प्रचण्डको सुरक्षामा डिएसपीको कमान्डमा २० जना खटिएकोमा १८ जना फिर्ता भए। शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपीको कमान्डमा १७ जना खटिएकोमा १५ जना फिर्ता भए।
माधव नेपालको सुरक्षामा १२ जना र झलनाथ खनालको सुरक्षामा ८ जना प्रहरी खटिएका थिए। यी सबैलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा २ जना जुनियर प्रहरी छाडेर बाँकी सबै प्रहरी प्रधान कार्यालय फिर्ता भएका छन्। पूर्व प्रधानमन्त्रीहरूले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलबाट १५ जना सुरक्षाकर्मी पाउँछन्। बढी खटिएका सशस्त्र फिर्ता गरेर त्यति संख्या भने यथावत् राखिएको छ।
पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्र बहादुर चन्द र बाबुराम भट्टराईले भने कार्यविधि अनुसार नै दुई जना मात्र पिएसओ लिएकाले उनीहरूबाट भने सुरक्षाकर्मी फिर्ता गर्नु परेन।
असोज २४, २०८२ शुक्रबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।