ट्रम्पलाई नोबेल शान्ति पुरस्कारबाट बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले भन्यो- ‘शान्तिमाथि राजनीति भयो’

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारबाट बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले भन्यो- ‘शान्तिमाथि राजनीति भयो’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारबाट बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले नर्वेको नोबेल समितिमाथि राजनीतिक पक्षपात गरेको आरोप लगाएको छ।

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको केही घण्टापछि ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्ति जारी गर्दै समितिले “शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको” टिप्पणी गरे।

चेउङले भने, “राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुभएको छ, युद्ध अन्त्य गर्नुभएको छ र अनगिन्ती ज्यानहरू बचाउनुभएको छ। उहाँसँग मानवतावादीको हृदय छ, र उहाँजस्तो मानिस अर्को कोही छैन जसले आफ्नो इच्छाशक्तिले समस्याका पहाडहरू हटाउन सक्छ।”

ट्रम्पले जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि बारम्बार आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी गर्दै आएका छन्। उनले पछिल्ला वर्षहरूमा मध्यपूर्वदेखि एशिया सम्मका आठवटा युद्धविराममा भूमिका खेलेको दाबी समेत गरेका थिए।

शान्ति पुरस्कार घोषणाको अघिल्लो दिन ट्रम्पले पत्रकारसँग भनेका थिए, “उनीहरूले जे गरे पनि ठीक छ। मैले यो पुरस्कारका लागि होइन, धेरै जीवन बचाउनका लागि गरेको हुँ।”

तर ओस्लोस्थित नोबेल विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति नोबेलको सन् १८९५ मा तय गरिएको आदर्शसँग मेल नखाने बताएका छन्। 

असोज २४, २०८२ शुक्रबार २०:५९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।