सर्वदलीय बैठकपछि सञ्चारमन्त्री खरेलले भने- निर्वाचनमा जाने कुरामा कुनै पनि दलको विमति रहेन

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले कुनै पनि राजनीतिक दलले निर्वाचनमा जाने विषयमा असहमति नजनाएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनबारे विमति नराखेको उनले बताए।
‘सबै दलले निर्वाचनमा जानुपर्छ भन्ने कुरामा सहमति जनाएका छन्,’ मन्त्री खरेलले बैठकपछि सञ्चारकर्मीलाई बताए, ‘तर केही दलहरूले भने पार्टीको आधिकारिक निर्णय गरेर केही दिनभित्र टुंगो लगाउने बताएका छन्।’
बैठकमा सहभागी नेताहरूले अहिलेको सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुन आवश्यक तयारी तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका थिए।
बैठकमा राष्ट्रपति पौडेलले पनि निर्वाचन लोकतन्त्र र संविधानको रक्षाको एक मात्र विकल्प भएको बताउँदै सबै दललाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न मिलेर अघि बढ्न आग्रह गरेका थिए।
सर्वदलीय बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका नेताहरू सहभागी थिए।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा.जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी थिए।
असोज २४, २०८२ शुक्रबार २०:४०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।