सर्वदलीय बैठकमा प्रधामन्त्री- जेनजी हाम्रै सन्तान हुन्, उनीहरूको असन्तुष्टिलाई बुझेर परिवर्तनलाई आत्मसात गरौं

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। उनले राजनीतिक दलहरूलाई फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुन आग्रह समेत गरे।
राष्ट्रपति पौडेलले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा दलहरूलाई निर्वाचनतर्फ एकमत बन्न आग्रह गरे।
राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन गराउने विश्वास नागरिकमा जगाउन सरकारलाई सुझाव समेत दिए। उनले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थाले देशलाई कहाँ पुर्याउँछ भन्ने सोच्न आवश्यक रहेको समेत बताए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहमतिबिना निर्वाचन सम्भव नहुने भन्दै सरकारले स्वतन्त्र, निष्पक्ष र भय रहित निर्वाचन गराउन आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी थिइन्। ‘जेनजी हामीहरू सबैका छोरा नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ,’ बैठकमा उनले भनिन्।
बैठकमा कुनै पनि राजनीतिक दलले निर्वाचनमा जाने कुरा विमति नराखेको सरकारका प्रवत्ता एंव सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। ‘उहाँहरूले पनि निर्वाचनमा जानुपर्छ भन्ने कुरालाई आत्मसात गर्नु भएको छ। तर केही दलले भने निर्वाचनमा जाने विषय पार्टीबाट निर्णय गरेर केही दिनमा टुङ्गयाउँछौं भन्नुभएको छ,’ उनले भने।
बैठकमा सहभागी दलका नेताहरूले अहिलेको सुरक्षा व्यवस्थाका कारण निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेमा केही शंका पैदा भएको धारणा राखेका थिए।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।
त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा.जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी थिए।
असोज २४, २०८२ शुक्रबार २०:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।