जापानलाई ५ विकेटले हराउँदै समूह ‘बी’ को विजेता बन्यो नेपाल

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल सुपर-६ मा प्रवेश गरेको छ। शुक्रबार जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता भएको हो।
जापानले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे।
बलिङमा जापानका शोमा स्लेटरले २ विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रन बनाए।
बलिङ तर्फ नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए।
असोज २४, २०८२ शुक्रबार १९:३५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।