जेन-जी आन्दोलनमा हिंसा फैलाएको दाबीसहित सुधनदेखि टिकटकर मनोजविरुद्ध सम्म जाहेरी

काठमाडौं : जेन-जी पुस्ताको आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनामा संलग्न रहेको दाबीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, हामी नेपालका संस्थापक सुधन गुरुङसहित टिकटकर मनोजकेसीसहितका कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरविरुद्ध प्रहरी कार्यालयमा जाहेरी पुगेको छ।
शुक्रवार राज्यविरुद्धको कसुर, आतङ्कवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विस्फोटक पदार्थसम्बन्धी कसुर लगायतका आरोपमा उनीहरूमाथि अनुसन्धानको माग राख्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए पनि दर्ता भने भएको छैन।
जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको दाबीसहित कलाकार सन्जोग कोइराला, निश्चल बस्नेत, रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्रीलाई आरोपी बनाएका छन्।
यसैगरि युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिरज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठलाई पनि आरोपी बनाइएको छ।
केपी खनाल, रिमा विश्वकर्मादेखि टिकटकर मनोज केसी, युजन राजभण्डारी, रामकुमार खड्कालाई समेत आरोपी बनाएर जाहेरी पेस भए पनि दर्ता भने भएको छैन।
काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश लेखकले जाहेरी आएको तर प्रहरीले दर्ता नगरी त्यसबारे अध्ययन भइरहेको जानकारी दिए। यस अगाडि टिकटकर मनोज केसीबारे प्रहरीमा तीनवटा आपराधिक रेकर्ड फेला परेकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।
असोज २४, २०८२ शुक्रबार १९:३३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।