जोखिम बन्दै जेन-जी आन्दोलनमा भागेका कैदी, नख्खुबाट भागेका कैदीले 'मारे' आफ्नै साथी

काठमाडौं : जेन-जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले आफ्नै साथीको हत्या गरेको खुलेको छ। कारागारबाट भागेका उनले मकवानपुर घर भई अहिले बालाजु मनमैजु बस्ने २५ वर्षका सुरज तामाङको हत्या गरेको खुलेको हो। असोज १३ मा ठमेलको बुद्धबार गल्लीमा रहेको ह्याप्पी होटेल अगाडि सुरज खुकुरी प्रहारबाट घाइते भएका थिए।
उनको वीर अस्पतालमा उपचारको क्रममा १४ गते नै मृत्यु भयो। अनुसन्धानमा सुरज र आकाश चिनजानकै साथी भएको र उनको हत्यामा आकाश संलग्न रहेको देखिएको प्रहरीको दाबी छ।
आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए। जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किए लगत्तै नख्खुका कैदी तथा बन्दीहरू समेत बाहिर निस्किएका थिए। त्यहीक्रममा आकाश पनि कारागारबाट बाहिर आएका थिए।
अहिले पनि कारागारबाट भागेका पाँच हजार बढी कैदी तथा बन्दीहरू कारागार फर्किएका छैनन्। यस बिचमा कारागारबाट भागेर भारत पुगेका कैदी उतै पक्राउ परिसकेका छन्। जेलबाट भागेका काभ्रे पनौतीका सन्तबहादुर तामाङले श्रीमती मनीषाको हत्या गरेर शव बारीमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो। उनी पक्राउ परेका छैनन्।
असोज २४, २०८२ शुक्रबार १९:१८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।