जेन-जी आन्दोलनमा सेनाको भूमिकाको आलोचनापछि जङ्गी अड्डाले निकाल्यो झारा टार्ने विज्ञप्ति

जेन-जी आन्दोलनमा सेनाको भूमिकाको आलोचनापछि जङ्गी अड्डाले निकाल्यो झारा टार्ने विज्ञप्ति

काठमाडौं : जेन-जी पुस्ताको आन्दोलनकोक्रममा आफ्नो सुरक्षा घेराभित्र रहेको सिंहदरबार र राष्ट्रपतिको कार्यालय समेत जोगाउन नसकेको सेनाको भूमिकाबारे निरन्तर आलोचना भइरहेको छ। भदौ २३ गते बेलुका बसेको सुरक्षा संगठनका प्रमुखहरूको बैठकको सहमति अनुसार भदौ २४ गते महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा नखटिएको मात्रै हैन सेनाले आफ्नो सुरक्षा घेरामा रहेको राष्ट्रपतिको कार्यालय, सिंहदरबारसँगै संसद् भवन र प्रधानमन्त्रीको निवास जल्दा समेत निष्क्रिय देखिएको थियो।

अन्तरिम सरकारको गठनमा राष्ट्रपतिलाई भूमिगत बनाएर प्रधानसेनापति अशोकराज सिग्देल आफैँ राजनीतिक संवादमा संलग्न भएर राजतन्त्रवादी र अराजक गतिविधिमा संलग्न दुर्गा प्रसाईँ लगायतलाई समेत युवा पुस्ताको आन्दोलनको स्टेकहोल्डरको रूपमा स्वामित्व दिने प्रयास गरेका थिए।

सङ्कटमा सुरक्षा प्रबन्धमा खटिनुको साटो सरकार निर्माण र राजनीतिमा होमिएको सेनाको भदौ २३ र २४ को भूमिकाबारे निरन्तर आलोचना हुन थालेपछि जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार निकै नरम विज्ञप्ति निकालेर टीकाटिप्पणी र धारणाप्रति ध्यानाकर्षण भएको र विद्वद्वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ।

उसले सिंहदरबार जल्नबाट रोक्न र आगो लागिसकेपछि निभाउन सेनाले खेलेको भूमिका, आफ्नो पूर्ण सुरक्षा घेरामा रहेको राष्ट्रपतिको कार्यालय जल्नबाट रोक्न नसक्नुको कारण अनि सैनिक प्रमुख आफैँ सरकार निर्माणको राजनीतिक संवादमा सहभागी हुनुपर्दाको कारण लगायतका विषयमा भने केही उल्लेख गरेको छैन।

विज्ञप्तिमा भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गरेको भन्दै आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकता अनुसार पहल लिएको दाबी गरिएको छ।

संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको भन्दै उसले सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।

उसले जे-जे विषयमा नेपाली सेनाको नेतृत्वको आलोचना भइरहेको छ त्यो पक्षमा भने प्रवेश गरेको छैन। केवल ध्यानाकर्षण भएको मात्र उल्लेख गरेर टारेको छ।

भदौ २४ गते ९ बजेबाट प्रदर्शन शुरुहुँदा सेना कतै उपस्थित देखिएको थिएन। जबकि २३ गते नयाँबानेश्वरमा प्रदर्शनमा भएको दमनपछिको अवस्थाबारे छलफल गर्न बसेको सुरक्षा बैठकमा २४ गते महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा सेना र ब्याकअपमा सशस्त्र प्रहरी खटिने सहमति भए पनि सेना ब्यारेक भित्र बसेको थियो।

दिनभर संसद्, सर्वोच्च अदालत, सिंहदरबारहुँदै सेनाको परमाधिपतिको कार्यालयसम्म तोडफोड र आगजनी हुँदा पनि सेना निष्क्रिय थियो। २४ गते बेलुका प्रधानसेनापतिले राष्ट्रको नाममा संक्षिप्त सम्बोधन गरेपछि १० बजेबाट सेना सडकमा आएको थियो। त्यो १२ घण्टा सेना किन ब्यारेकमा बसेर देशको महत्त्वपूर्ण संरचना जल्दा रमिते बन्यो भन्नेबारे उसले औपचारिक धारणा अझैँ सार्वजनिक गरेको छैन।

असोज २४, २०८२ शुक्रबार १९:०७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।