अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो, दुईतर्फी खुल्न अझै दुई दिन लाग्ने

अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो, दुईतर्फी खुल्न अझै दुई दिन लाग्ने
Filephoto

काठमाडौं : बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज १७, १८ र १९ गते परेको लगातार वर्षाका कारण आएको बाढी-पहिरोले अवरुद्ध बनेको राजमार्ग मर्मत गरी अस्थायी रूपमा खोलिएको हो।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार काभ्रेको चौकीडाँडा र सिन्धुलीका विभिन्न १३ स्थानमा क्षति पुगेको करिब चार किलोमिटर सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको हो। उनले राजमार्ग दुईतर्फी रूपमा आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिए।

सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने र खाल्डा पुर्ने काम गरिएको छ। क्षतिग्रस्त सडकको मर्मत सोमबारदेखि सुरु गरिएको थियो। बाढीपहिरोका कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको थियो। त्यस्तै, काभ्रेको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो) मा पनि सडकमा क्षति पुगेको थियो। सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) मा समेत क्षति पुगेको न्यौपानेले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए। उनले उपकरण र जनशक्ति थप गर्न, साथै बत्तीको व्यवस्था गरेर राति पनि काम गर्न निर्देशन दिएका थिए।

असोज २४, २०८२ शुक्रबार १८:५४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।