चितवनमा मतदाता नामावलीमा नाम दर्ता गराउने अधिकांश जेन–जी पुस्ताका

चितवनमा मतदाता नामावलीमा नाम दर्ता गराउने अधिकांश जेन–जी पुस्ताका
तस्बिर : किशोर खनाल

चितवन : निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूमा अधिकांश जेन-जी पुस्ताका युवा छन्। आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि चितवनमा अहिले मतदाता नामावली संकलनको काम भइरहेको छ।

गत भदौ २४ गते जेन-जीको आन्दोलनको क्रममा आगजनी भएर पूर्णरुपमा क्षति भएको निर्वाचन कार्यालय बाहिर बसेर मतदाता नामावली संकलनको काम भइरहेको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले बताए। उनका अनुसार यसपटक मतदाता नामावलीमा नाम दर्ता गराउने आउनेमा अधिकांश २५ वर्ष मुनिका छन्। 

“जलेको भवन बाहिर बसेर काम गरिरहेका छौँ, दाताहरूले दिएको सामग्री प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छौँ,” उनले भने,  “करिब ९ सय जना नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्। ६ सय बढी त २५ वर्ष मुनिका छन्।”

उनका अनुसार असोज १२ गते २ सय ८४ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका थिए। कात्तिक मसान्तसम्म मतदाता नामावली संकलनको काम सकिने र अहिले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ताको काम भइरहेको निर्वाचन कार्यालय भरतपुरका प्रमुख कार्कीले जानकारी दिए। कार्यालयसँग भएको दर्ता किट आगजनीमा परेपछि मकवानपुरबाट दर्ता किट मगाएर काम गरिएको उनको भनाइ छ।

“दिनमा दुई सय जनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आइरहेका छन्, तर हामी दिनमा ६ सय जनासम्मको नाम दर्ता गर्न सक्ने अवस्थामा पुगेका छौँ’ उनले भने, ‘भवन पुनर्निर्माणको काम पनि भइरहेको छ।  हामी जलेको भवन बाहिर बसेर मतदाता नामावलीमा नाम दर्ताको काम पनि गरिरहेका छौ।”

२०७९ सालको निर्वाचनमा चितवनमा ४ लाख २१ हजार ३ सय ९२ मतदाता थिए। २०८२ फागुन २१ गते हुने निर्वाचनमा चितवनको मतदाता ४ लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ।

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्, तर १८ वर्ष उमेर पुरा भएपछि मात्र मतदानको अधिकार प्राप्त गर्नेछन्। मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनु पर्ने भए मतदाता नामावली संकलनको क्रममा सच्याउन सकिने निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी नेत्रराज श्रेष्ठले बताए।

असोज २४, २०८२ शुक्रबार १६:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।