जेनजी आन्दोलनमा बल प्रयोग गर्न आदेश नदिएको तत्कालीन गृहमन्त्री लेखकको दाबी

काठमाडौं : तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीका हैसियतले बल प्रयोग गर्न कुनै आदेश नदिएको स्पष्ट पारेका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले बल प्रयोग गर्ने आदेश दिने विषय होइन। प्रधानमन्त्रीज्यू वा मेरो तर्फबाट कुनै आदेश दिइएको थिएन।’
उनले आन्दोलनका क्रममा धेरै मानिसको मृत्यु र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा भएको आगजनीप्रति दुःख व्यक्त गर्दै, त्यसपछि आफैंले तत्काल राजीनामा दिएको बताए।
त्यस्तै लेखकले आन्दोलनमा घुसपैठ भएको भन्दै यो विषय प्रदर्शनका आयोजकहरूले नै उठाएको बताए। उनले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले भदौ २३ गते देशभर प्रदर्शन गरेका थिए। सो क्रममा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो।
असोज २४, २०८२ शुक्रबार १६:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।