भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी : भेनेजुएलाकी विपक्षी नेतृ तथा कार्यकर्ता मारिया कोरिना मचाडोले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी छिन्।
नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले शुक्रबार मचाडोलाई सम्मान गर्दै उनलाई ‘गहिरो रूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला पार्ने एकीकृत र साहसी नेतृत्वको प्रतीक’ भनेर व्याख्या गरे।
फ्राइड्नेसले भने, ‘गत वर्ष मचाडो लुक्न बाध्य पारिइन्। जीवनमा गम्भीर जोखिमका बाबजुद पनि उहाँ देशमै रहेर लाखौँ नागरिकलाई स्वतन्त्रता र प्रतिरोधका लागि प्रेरित गर्न सफल हुनुभयो। अधिनायकवादविरुद्ध उठ्ने साहसी व्यक्तिहरूलाई चिन्ने यो महत्त्वपूर्ण क्षण हो।’
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको राष्ट्रपति चुनाव अघि मचाडोलाई अयोग्य घोषित गर्दै उम्मेदवारीमा रोक लगाएको थियो। त्यसपछि उनको स्थानमा एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो।
तर, गोन्जालेजलाई विजेता घोषणा गरेपछि देशभर प्रदर्शन भड्किएको थियो, जसमा २० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। ती विरोध प्रदर्शनपछि भेनेजुएला र विभिन्न विदेशी राष्ट्रबीच कूटनीतिक सम्बन्धमा तनाब बढेको थियो। मचाडो त्यस अवधिमा लुक्नुभएको थियो र जनवरीयता सार्वजनिक रूपमा देखिएकी छैनन्।
नोबेल समितिले हरेक वर्ष शान्तिको प्रवर्द्धन, अन्तर्राष्ट्रिय भ्रातृत्व, र मानवअधिकारका पक्षमा योगदान दिने व्यक्तिहरू वा संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ।
गत वर्षको नोबेल शान्ति पुरस्कार जापानी आणविक विस्फोटबाट बचेका निहोन हिडान्क्यो संस्थालाई दिइएको थियो, जसले दशकौँदेखि आणविक हतियारको प्रयोग रोक्न काम गर्दै आएको छ।
नोबेल शान्ति पुरस्कार हरेक वर्ष नर्वेको ओस्लोमा प्रदान गरिन्छ, भने यसै हप्ता स्विडेनको स्टकहोममा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका पुरस्कार विजेताहरू घोषणा भइसकेका छन्। अर्थशास्त्रको पुरस्कार सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ।
असोज २४, २०८२ शुक्रबार १५:३०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।