आइजिपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने चेतावनी नदिएको प्रहरीको दाबी

काठमाडौं : नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकबारे कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ।
केही दिनयता विभिन्न सञ्चारमाध्यममा आइजिपी खापुङले ओली र लेखकलाई पक्राउ गर्न दबाब परे राजीनामा दिने चेतावनी दिएको भन्ने आशयका समाचारहरू आएपछि नेपाल प्रहरीले शुक्रबार विज्ञप्ति जारी गरी ती समाचारप्रति आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै, सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठकहरूमा शान्ति–सुरक्षा र समसामयिक चुनौतीहरूको विश्लेषणमा मात्र सौहार्दपूर्ण छलफल भएको हो।’
नेपाल प्रहरीले सार्वजनिक रूपमा आइजिपीको नाममा फैलाइएका यस्ता भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा केन्द्रीय प्रवक्ता विनोद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरी शान्ति–सुव्यवस्था कायम गर्ने संवैधानिक दायित्वप्रति पूर्ण प्रतिबद्ध छ। संस्थागत मर्यादाविरुद्धका भ्रामक समाचारहरूमा विश्वास नगर्न र भ्रम नफैलाउन सबैसँग अनुरोध गर्दछ।’
असोज २४, २०८२ शुक्रबार १५:०९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।