काठमाडौंमा विदेशी फूलमालालाई प्रतिबन्ध, ३२ बिक्री केन्द्र स्थापना गर्दै महानगर

काठमाडौंमा विदेशी फूलमालालाई प्रतिबन्ध, ३२ बिक्री केन्द्र स्थापना गर्दै महानगर

काठमाडौं : तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले विदेशबाट आयात गरिएका फूलमाला बिक्री-वितरणमा प्रतिबन्ध लगाएको छ।

महानगर प्रहरी बलले बिहीबार पत्रकार सम्मेलन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि यो निर्णय गरिएको जानकारी दिएको हो।

नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेका अनुसार अवैध रूपमा आयात गरिएका फूलमाला बिक्रीमा पूर्ण रोक लगाइनेछ र स्वदेशमा उत्पादन भएका फूलको प्रयोगलाई बढावा दिइनेछ। ‘विदेशी फूलमाला बिक्री गर्नेलाई नियन्त्रणमा लिइनेछ, र ती माला महानगरले जफत गर्नेछ,’ पाण्डेले बताए।

उनका अनुसार तिहार अवधिभर, आगामी कात्तिक १ देखि ६ गतेसम्म, महानगरले ३२ स्थानमा स्वदेशी फूल बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

ती स्थानमा नयाँबानेश्वरको एनभी सेन्टर, शङ्खमुल बिगमार्ट, आइप्लेक्स मल, मध्यबानेश्वर सेल्सबेरी, बत्तीसपुतली फिनिक्स टावर, चाबहिल एसी कम्प्लेक्स, केएल टावर, स्वयम्भु धर्मचक्र पार्क, कालिमाटी ब्याङ्क्वेट, कलंकी भाटभटेनी, महाराजगञ्ज सेल्सबेरी, पुतलीसडक स्टार मल, सुन्धारा काठमाडौं मल, पुरानो बसपार्कलगायत रहेका छन्।

नेपाल चेम्बर अफ कमर्सका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले विगत तीन वर्षदेखि महानगरको समन्वयमा स्वदेशी फूललाई प्रोत्साहन गर्ने अभियान चलाइँदै आएको बताए।

त्यस्तै, नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषकलाई आत्मनिर्भर र राज्यलाई समृद्ध बनाउन महानगरको नीतिलाई आफूहरूले साथ दिने बताए। एशोसिएसनले असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

एशोसिएसनका अनुसार यस वर्ष तिहारमा काठमाडौं उपत्यकामा झन्डै ४० लाख माला खपत हुने अनुमान छ। 

असोज २४, २०८२ शुक्रबार १४:५१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।