चितवनमा थपिए ९५० नयाँ मतदाता

चितवनमा थपिए ९५० नयाँ मतदाता
ai image

चितवन : निर्वाचन कार्यालय चितवनमा पछिल्लो एक साताभित्र ९५० जना नयाँ मतदाता थपिएका छन्। असोज १० गतेदेखि सुरु गरिएको नामावली सङ्कलन कार्य आजसम्म जारी छ।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेसँगै मतदाता नामावली अद्यावधिकको काम तीव्र पारिएको हो। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत भइरहेकाले अहिले सोही भवनको बाहिर नै मतदाता दर्ता कार्य भइरहेको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार अहिले मतदाता दर्ता गर्न आउनेको सङ्ख्या पहिलाको तुलनामा बढ्दो छ। “अहिले नयाँ पुस्ता बढी सक्रिय छन्, दर्ता गराउनेमध्ये धेरैजसो २५ वर्षमुनिका छन्,” कार्कीले भने।

उनका अनुसार निर्वाचन आयोगको अनलाइन प्रणालीबाट फाराम भरेपछि देशभरका जुनसुकै स्थानबाट फोटो र बायोमेट्रिक विवरण दिन सकिन्छ। मतदाता नामावली सङ्कलन कार्य कात्तिक मसान्तसम्म चल्ने छ।

विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए। आगामी फागुनमा हुने निर्वाचनसम्म यो संख्या करिब चार लाख ५० हजार पुग्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगले हालै स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन्। माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने फागुन ३ देखि १८ गतेसम्म प्रचार–प्रसारको समय तोकिएको छ।

असोज २४, २०८२ शुक्रबार १४:३३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।