सुरक्षा चुनौती देखाउँदै काठमाडौंमा भोलि हुने सबै प्रदर्शनमा रोक, एमालेको कार्यक्रम पनि अनिश्चित

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबारका लागि तय भएका सबै प्रकारका र्याली, सभा तथा प्रदर्शनमा रोक लगाएको छ।
एमाले लगायत विभिन्न समूहले प्रदर्शनको तयारी गरिरहेका बेला प्रशासनले सुरक्षा चुनौती बढेको भन्दै कुनै पनि कार्यक्रमका लागि अनुमति नदिने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार सूचना निकालेर हालैका घटनाहरूले उत्पन्न गरेको सुरक्षा स्थितिलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ।
सूचनामा गत भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिका दिनमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिले शान्ति सुरक्षामा गम्भीर चुनौती थपेको उल्लेख छ।
‘विभिन्न समूहबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ’, सूचनामा भनिएको छ।
यद्यपि सूचनामा कुनै दल वा समूहको नाम तोकिएको छैन, तर फरक-फरक समूहले शनिबार मोटरसाइकल र्याली तथा सभा गर्ने सूचना प्राप्त भएको प्रशासनले जनाएको छ। यो निर्णयसँगै एमालेले घोषणा गरेको प्रदर्शन स्वतः प्रभावित भएको छ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ र प्रहरी ऐन, २०१२ को व्यवस्था बमोजिम पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रम नगर्न र नगराउन समेत सबैमा आग्रह गरेको छ।
असोज २४, २०८२ शुक्रबार १४:११:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।