जिल्ला प्रशासन कार्यालय काठमाडौंका सेवाहरू आइतबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राहदानी आवेदनबाहेकका आफ्ना सबै सेवाहरू आगामी असोज २६ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै रोकिएका सेवाहरू पूर्ववत् रूपमा सुचारु हुने जानकारी दिएको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ताद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट प्रवाह हुने सबै प्रकारका (राहदानी आवेदन बाहेकका) सेवाहरू मिति २०८२/०६/२६ गतेबाट पूर्ववत् रूपमा सुचारू गरिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’
यो निर्णयसँगै नागरिकता, राष्ट्रिय परिचयपत्रका लागि सिफारिस, संघसंस्था दर्ता तथा नवीकरण, नाबालक परिचयपत्र लगायतका अत्यावश्यक सेवाहरू पुनः नियमित हुनेछन्। यसले सेवाका लागि पर्खिरहेका हजारौँ सेवाग्राहीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
यद्यपि, राहदानी आवेदनसम्बन्धी सेवा भने हाललाई यो सूचनामा समावेश गरिएको छैन। सेवा प्रवाहबारे थप जानकारी आवश्यक परेमा कार्यालयले नियमित रूपमा सूचना प्रकाशन गरी जानकारी गराउने पनि सूचनामा उल्लेख छ।
जेन-जी आन्दोलनका कारण भदौ २४ गते भएको आगजनी र तोडफोडपछि प्रशासन कार्यालयको सेवा रोकिएको थियो।
असोज २४, २०८२ शुक्रबार १४:०३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।