जापानिज इन्सेफ्लाइटिसबाट १० वर्षयताकै उच्च मृत्यु, देशभर ३१ जनाको ज्यान गयो

जापानिज इन्सेफ्लाइटिसबाट १० वर्षयताकै उच्च मृत्यु, देशभर ३१ जनाको ज्यान गयो

काठमाडौं : नेपालमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणले भयावह रूप लिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार, यो वर्ष हालसम्म देशभर ३१ जनाको मृत्यु भइसकेको छ, जुन पछिल्लो एक दशकयताकै सबैभन्दा उच्च आँकडा हो।

परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, यो वर्ष सङ्क्रमण दर र मृत्युदर दुवै चिन्ताजनक रूपमा बढेको छ।

यस वर्ष १६४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने गत वर्ष यो सङ्ख्या ८६ थियो। तथ्याङ्क अनुसार, सन् २०२३ मा ७ जनाको मृत्यु भएको थियो भने सन् २०१८ देखि २०२२ सम्म यो रोगबाट कसैको पनि मृत्यु भएको थिएन।

मृत्यु हुनेमा अधिकांश खोप नलाएका वयस्क
डा. गौतमले भने, ‘विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो। मृत्यु हुनेमा अधिकांश ४० वर्षभन्दा माथिका र खोप नलगाएका व्यक्तिहरू हुनुहुन्छ।’

खोप लगाएका व्यक्तिमा पनि समयसँगै त्यसको असर कम हुँदै जाँदा सङ्क्रमण देखिन सक्ने उनले बताए।

हालसम्म देशका ४२ जिल्लाका ११० पालिकामा सङ्क्रमण फैलिसकेको छ, जसमध्ये २८ जिल्ला उच्च जोखिममा छन्। प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा धेरै ११ जनाको मृत्यु भएको छ भने बागमती र गण्डकीमा ५/५, कोशीमा ४, मधेसमा ३, सुदूरपश्चिममा २ र कर्णालीमा १ जनाको ज्यान गएको छ।

विशेषगरी साउनदेखि कात्तिक महिनासम्म बढी सक्रिय हुने यो रोग बढ्नुको यकिन कारण पत्ता लगाउन अध्ययन भइरहेको छ।

डा. गौतमले भने, ‘लामखुट्टेको बढ्दो सक्रियता, सुँगुर वा हाँस पालनको विस्तार जस्ता कारणले सङ्क्रमण बढेको हो कि भनेर हामी अध्ययन गरिरहेका छौँ।’

नेपालमा सन् १९७८ मा पहिलो पटक देखिएको जापानिज इन्सेफ्लाइटिसविरुद्ध सन् १९९८ देखि बालबालिकालाई नियमित खोप दिइँदै आएको छ। हालसम्म करिब ८२ प्रतिशत बालबालिकाले यो खोप पाएका छन्।

असोज २४, २०८२ शुक्रबार १३:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।