टिकटक बनाउन खोलामा हाम फालेका युवकको छ दिनपछि शव भेटियो

टिकटक बनाउन खोलामा हाम फालेका युवकको छ दिनपछि शव भेटियो

बारा : टिकटक भिडियो बनाउने क्रममा बाराको दुधौरा खोलामा हाम फालेर बेपत्ता भएका एक युवकको ६ दिनपछि शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, प्रसौनी गाउँपालिका-२ निवासी २१ वर्षीय विकी गोसाइँको शव बङ्गरी पुल नजिक फेला परेको हो।

गत असोज १९ गते आइतबार बिहान करिब ८:३० बजे गोसाइँ टिकटक भिडियो बनाउन दुधौरा खोलाको पुलबाट हाम फालेका थिए।

अविरल वर्षाका कारण खोलामा पानीको बहाव उच्च थियो। उनीसँगै हाम फालेका उनका साथी २० वर्षीय अनुराग केशरवानी भने पौडिएर बाँच्न सफल भएका थिए।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उनको खोजी कार्य तीव्र पारेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले खोजीका लागि गोताखोर र मोटरबोटसहित ४० जनाभन्दा बढी सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।

सुरक्षा टोलीले दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिकाको त्रिवेणी, विश्रामपुरको नकटुवा हुँदै चिलझपटीसम्मको क्षेत्रमा व्यापक खोजी गरेको थियो। ६ दिनको अथक प्रयासपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

असोज २४, २०८२ शुक्रबार १३:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।