नयाँ क्रिकेट जर्सी तिहारपछि मात्र नेपाल आइपुग्ने, राष्ट्रिय टोलीले लगाइसक्दा पनि ‘कन्फर्म’ भएको छैन सम्झौता

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी तिहारपछि मात्र नेपाल आइपुग्ने भएको छ।
दशैंमा भएको वेस्ट इन्डिज सिरिजअघि टी१० स्पोर्ट्स र भाटभटेनी होल्डिङ्सले क्यानसँग दुई वर्षका लागि जर्सी उपलब्ध गराउने सम्झौता गरेका थिए।
सोही सम्झौता अनुसार अहिले क्यानले टी१० स्पोर्ट्सले उत्पादन गरेको जर्सी लगाइरहेको छ।
तर, सम्झौता भएको एक महिना पुग्दै लाग्दा समेत टी१० स्पोर्ट्सको नेपाल प्रतिनिधि भाटभटेनी होल्डिङ्सले अहिलेसम्म आधिकारिक जर्सी नेपाल ल्याउन सकेको छैन। यसको जर्सी भारतमा उत्पादन हुँदै आएको छ।
होल्डिङ्सका निर्देशक आलोकजंग जोशीले विक्री वितरणको लागिथ जर्सी नेपाल आइनसकेको भन्दै तिहारपछि मात्र उपलब्ध हुने जानकारी दिए।
उनले उकेरासँग भने, ‘जर्सी अहिलेसम्म नेपाल आएको छैन। तिहारपछि ल्याउँछौँ।’
जर्सीको मूल्य निर्धारणका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग केही सम्झौता हुनै बाँकी रहेकाले क्यानसँगको छलफलपछि हुने उनको भनाइ छ।
‘एग्रिमेन्टको केही कुराहरू अझै कन्फर्म हुँदैछ, आजभोलिमा कन्फर्म भएपछि मूल्य निर्धारण हुन्छ,’ उनले थपे, ‘हामी सकेसम्म सबैलाई मिल्ने गरी नै मूल्य तय गर्छौँ।’
केही कुराहरूको बारेमा भने जोशी खुल्न चाहेनन्।
दशैंअघि उकेरासँगको कुराकानीमा निर्देशक जोशीले बाटोको अवस्था र देशको अवस्थाका कारण ल्याउन सम्भव नभएको बताउँदै दशैंलगत्तै किन्न पाउने बताएका थिए।
असोज २४, २०८२ शुक्रबार १२:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।