तहरीक-ए-लब्बैकको प्रदर्शनले पाकिस्तान ठप्प : राजधानी इस्लामाबाद सिल, इन्टरनेट सेवा बन्द

तहरीक-ए-लब्बैकको प्रदर्शनले पाकिस्तान ठप्प : राजधानी इस्लामाबाद सिल, इन्टरनेट सेवा बन्द

इस्लामाबाद : पाकिस्तानको कट्टरपन्थी धार्मिक तथा राजनीतिक दल तहरीक-ए-लब्बैक (टीएलपी) ले आयोजना गरेको विरोध प्रदर्शनका कारण राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

सरकारले प्रदर्शनलाई नियन्त्रण गर्न इस्लामाबाद आउजाउ गर्ने सबै मुख्य सडकहरू बन्द गरेको छ भने मोबाइल इन्टरनेट सेवा पनि अनिश्चितकालका लागि निलम्बन गरेको छ।

टीएलपीले १० अक्टोबरमा इस्लामाबादमा विशाल विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि सरकारले कडा कदम चालेको हो।

बीबीसी उर्दूका अनुसार, गृहमन्त्री मोहसिन नकवीले इस्लामाबाद र छिमेकी शहर रावलपिन्डीमा मोबाइल इन्टरनेट सेवा बन्द गर्न स्वीकृति दिएका थिए। इन्टरनेट सेवा बिहीबार मध्यरातदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछ।

यसअघि, बिहीबार नै रावलपिन्डी जिल्ला प्रशासनले ११ अक्टोबरसम्मका लागि शहरमा निषेधाज्ञा (धारा १४४) लागू गरिसकेको छ, जसअनुसार कुनै पनि प्रकारको भेला, जुलुस वा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

संघीय प्रहरी र इस्लामाबाद प्रशासनले प्रदर्शनकारीहरूलाई राजधानी प्रवेश गर्नबाट रोक्नका लागि पूर्ण तयारी गरेको छ।

शहरका सबै प्रवेश नाकाहरू सिल गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ, जसकारण सर्वसाधारणको आवतजावतमा समेत गम्भीर असर परेको छ।

असोज २४, २०८२ शुक्रबार १२:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।