औषधिको नाम क्यापिटल अक्षरमा र जेनेरिकमा लेख्न चिकित्सकहरूलाई शिक्षण अस्पतालको निर्देशन

औषधिको नाम क्यापिटल अक्षरमा र जेनेरिकमा लेख्न चिकित्सकहरूलाई शिक्षण अस्पतालको निर्देशन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगन्जले आफ्ना चिकित्सकहरूलाई बिरामीको उपचार पुर्जामा औषधिको नाम जेनेरिकमा र स्पष्ट बुझिने गरी क्यापिटल अक्षर (ठूलो अक्षर) मा लेख्न निर्देशन दिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुबास प्रसाद आचार्यले एक सूचना निकालेर यस्तो निर्देशन दिएका हुन्।अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक तथा शिक्षकहरूलाई सम्बोधन गर्दै जारी गरिएको सूचनामा नेपाल सरकार र डीन कार्यालयबाट निर्देशित नियमको पालना गर्न आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, ‘यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि प्रेस्क्राइब जेनेरिकमा क्यापिटल लेटरमा गर्न जानकारी गराइन्छ।’

चिकित्सकहरूले कुनै कम्पनीको ब्रान्ड नामको सट्टा औषधिको रासायनिक वा जेनेरिक नाम लेख्नुपर्नेछ। यसले बिरामीलाई सस्तो मूल्यमा उही गुणस्तरको औषधि खरिद गर्न विकल्प दिन्छ भने सोही ब्रान्डको औषधि खोज्नुपर्ने बाध्यता हटाउँछ।

औषधिको नाम क्यापिटल अक्षरमा लेख्दा हस्तलिखित पुर्जामा अक्षर नबुझिने समस्या हट्छ। यसले औषधि पसलमा कार्यरत फर्मासिस्टलाई सही औषधि दिन सहज बनाउँछ र गलत औषधि दिइने जोखिमलाई न्यूनीकरण गर्छ।

चिकित्सकको अस्पष्ट अक्षरका कारण बिरामीले गलत औषधि सेवन गर्नुपर्ने जोखिम कम गर्न यस्तो गरिएको हो। अस्पताल प्रशासनले यो निर्देशनको कडाइका साथ पालना गर्न सम्पूर्ण चिकित्सकहरूलाई सूचित गरेको छ।

असोज २४, २०८२ शुक्रबार ११:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।