मोटरसाइकल चोरेर चलाउँदै गर्दा दुईजना पक्राउ

मोटरसाइकल चोरेर चलाउँदै गर्दा दुईजना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले राजधानीका विभिन्न स्थानबाट दुईपाङ्ग्रे सवारी साधन चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

चोरीको मोटरसाइकल र स्कुटर चलाइरहेको अवस्थामा उनीहरूलाई फरक-फरक स्थानबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ घर भई हाल काठमाडौंको बौद्ध पिपलबोट बस्ने ३२ वर्षीय रविन मोक्तान र सिन्धुपाल्चोक घर बताउने ३० वर्षीय विवेक बिक रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मोक्तानलाई गत असोज २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिका-६, नगरकोटबाट को ३९ प ३०९९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो।

उक्त मोटरसाइकल मोरङका सुजन पोखरेलको रहेको र असोज १७ गते काठमाडौंको अत्तरखेलबाट हराएको भनी प्रहरीमा निवेदन परेको थियो। पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग खरिपाटी, भक्तपुरमा बुझाइएको छ।

त्यसैगरी, विवेक बिकलाई बा ८४ प १८४४ नम्बरको स्कुटर चलाइरहेको अवस्थामा हिजो (बुधबार) दिउँसो काठमाडौंको टोखा नगरपालिका-३ बाट पक्राउ गरिएको हो।

उक्त स्कुटर पर्साकी ज्योती कुमारी चौधरीको नाममा दर्ता रहेको र असोज २१ गते शंखपार्कबाट चोरी भएको थियो। बिकलाई स्कुटरसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।

असोज २४, २०८२ शुक्रबार १०:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।