धादिङमा बुक र्‍याकमा ठोक्किएर शिक्षिकाको मृत्यु

धादिङमा बुक र्‍याकमा ठोक्किएर शिक्षिकाको मृत्यु

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक शिक्षिकाको बुक र्याकमा ठोक्किएर मृत्यु भएको छ। यो दुःखद घटना सल्यानटारस्थित बालबिकास बोर्डिङ स्कुलमा भएको हो।

प्रहरीका अनुसार, बुधबार बिहान करिब १०:३० बजे विद्यालयको अफिस कोठामा काम गर्ने क्रममा सोही विद्यालयमा कार्यरत शिक्षिका, त्रिपुरासुन्दरी-५ निवासी करिब २८ वर्षीया कल्पना रानामगर अचानक बुक र्याकमा ठोक्किन पुगेकी थिइन्।

ठक्करबाट उनको कम्मरमा गम्भीर चोट लागेको थियो। तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल, धादिङबेसी लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ११:४९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय, सल्यानटारबाट करिब २० मिटरको दूरीमा रहेको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवको पोस्टमार्टम गराएको छ।

पोस्टमार्टमपश्चात् शवलाई अपरान्ह ४:४५ बजे अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। सामान्य ठक्करबाटै मृत्यु भएको यो घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ।

असोज २४, २०८२ शुक्रबार १०:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।