१० दिनदेखि बेपत्ता क्यान्सर पीडित महिलाको शव सडेको अवस्थामा खोला किनारमा भेटियो

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिकास्थित कोल्पुखोला किनारमा १० दिनदेखि हराइरहेकी एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार ककनी गाउँपालिका-३ मसिने स्थित खोला किनारमा बुधबार बिहान करिब ५:५० बजे स्थानीयले एक शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा शव पूर्ण रूपमा सडेगलेको र पहिचान गर्न नसकिने अवस्थामा थियो।
पछि अनुसन्धानको क्रममा उक्त शव तादी गाउँपालिका-१ निवासी करिब ६० वर्षीय काम सार्की तामाङकी श्रीमती, ५० वर्षीया माइती तामाङको भएको खुलेको हो। मृतकका श्रीमानले घाँटीमा रहेको प्वाल र दाँतको आधारमा शवको सनाखत गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार माइती तामाङ क्यान्सरकी बिरामी थिइन् र ककनी-१ स्थित डम्पिङ साइडमा फोहोर संकलनको काम गर्थिन्। उनी गत असोज १३ गते बिहान घरबाट निस्किएदेखि सम्पर्कविहीन भएकी थिइन्।
प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा घटना शंकास्पद नदेखिएको र शव अत्यधिक सडेगलेका कारण पोस्टमार्टम गर्न सम्भव नभएको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
असोज २४, २०८२ शुक्रबार १०:१६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।