सिंहदरबार जलाउँदा फायर हाइड्रेन्ट चलेन कि चलाइएन?

सिंहदरबार जलाउँदा फायर हाइड्रेन्ट चलेन कि चलाइएन?

काठमाडौं : भदौ २४, नेपालको प्रशासनिक इतिहासको एक कालो दिन। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार  आगोमा जलिरहँदा सिङ्गो राष्ट्र स्तब्ध थियो। तर, यो आगलागी केवल एक दुर्घटना थिएन, भ्रष्टाचारको विरोधमा शुरु भएको आन्दोलन सिंहदरबार जलाउने चरणसम्म कसले पूर्यायो ? आयोजक दाबी गरिएकाहरुले आफूहरुले हैन भनेर दाबी गरेकाले यसको जवाफ आन्दोलनको एक महिनापछिसम्म पनि भेटिएको छैन।

भदौ २३ गते बानेश्वरमा सरकारको दमनबाट १९ जनाको मृत्यु भएपछि त्यसले स्थितिलाई विस्फोटक बनायो। भोलिपल्ट, भदौ २४ गते, देशैभरि आक्रोशको आगो सल्कियो। सडकमा टायर जले, सरकारी कार्यालयहरू खरानी भए र सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भए। यही आक्रोशको ज्वालाले अन्ततः देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई आफ्नो चपेटामा लियो।

भूकम्पले थलिएर बल्ल ठडिएको सिंहदरबारको ऐतिहासिक भवन केही घण्टामै जलेर धुवाँ र खरानीको कालो दागले छोपियो। देशको गौरव र शक्तिको प्रतीक मानिने यो भवन उराठलाग्दो खण्डहरमा परिणत भयो। यसबीचमा सञ्जालदेखि चिया पसलसम्म प्रश्न उठ्यो- सेनाको बाक्लो सुरक्षा घेराभित्र रहेको सिंहदरबार कसरी यति सजिलै जल्यो? सेनाले आगो किन निभाएन? केही मिनेटको दुरीमै रहेको काठमाडौं महानगरले दमकल किन पठाएन?

महानगरको गाडी समातेको झोकमा मेयर बालेन शाहले सामाजिक सञ्जालमा "सिंहदरबार जलाउँछु" भनेर लेखेको प्रशंगसँगै सिंहदरबारसहितको संरचना जल्दा महानगरको दमकलको निस्क्रियताले उनको आलोचना बढ्यो। एक महिनासम्म निरन्तर उनीको व्यवहारको आलोचना भएपछि उनले फेसबुकमार्फत प्रदर्शनकारीहरूको अवरोधले दमकल जान नसकेको, सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न नसकेको र भीडले दमकललाई काम गर्न नदिएको जस्ता तर्क गरे। भीड शान्त हुने बित्तिकै बेलुकी सवा ८ बजे महानगरको दमकल सिंहदरबार पुगेको भिडियो राखे।

उनको अराजक अभिब्यक्तीप्रति पनि वाहवाहको प्रतिक्रिया आउने सञ्जालमा दमकलबारे उनले दिएको स्पष्टिकरण धेरैले पत्याएनन्। ८० प्रतिशत नकारात्मक प्रतिक्रिया आए।

सिंहदरबार जलेको एक महिनापछि उकेराकर्मी घटनास्थल पुग्दा अचम्ममा पार्ने नयाँ तथ्य फेला पर्यो। सिंहदरबारको हरेक तलामा आगलागी नियन्त्रणका लागि जडान गरिएका ‘फायर हाइड्रेन्ट’हरू देखिए। तर तीमध्ये एउटा पनि प्रयोग भएको थिएन।

भवनभित्रै आगो निभाउने प्रणाली थियो, तर त्यो चलेन। कतै बक्स फुटाइएका थिए, कतै पाइप असरल्ल थिए, तर प्रणाली सञ्चालन भएको कुनै प्रमाण भेटिएन।

यो रहस्यबारे सम्बन्धित निकायहरूका जवाफले थप शंका बढायो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्मा हाइड्रेन्टहरू काम गर्ने अवस्थामा रहेको र नजिकै पोखरीमा पानी समेत भएको अवस्थामा पनि नचलाइनुले आफूलाई पनि अचम्ममा पारेको बताए। यद्यपि किन चलाइएन भन्नेबारे उनीसँग पनि जवाफ थिएन।

सिंहदरबारको सुरक्षामा खटिए पनि सिंहदरबार जलाउन रोक्न नसकेको र जल्न थालेपछि आगो निभाउन समयमा परिचालन नभएको भन्दै नेपाली सेनाको नेतृत्व पनि आलोचित र शंकाको घेरामा परेको छ। सिंहदरबार समेत जोगाउन नसक्ने सेनाले बाह्य आक्रमणबाट जोगाउन सक्ला र भन्ने कोणबाट बहस बढिरहेका छन्।

तर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भवनभित्र हाइड्रेन्ट भएको सेनालाई जानकारी नै नभएको तर्क गरे। यद्यपि आफूहरूको दमकल दिउँसो सवा ४ बजे नै सिंहदरबार पुगेको भन्दै उनले उकेरामा तस्बिर पठाए। यदि सेनाले समयमै दमकल सिंहदरबार पठाएको हो भने रातभर कसरी सिंहदरबार जलिरह्यो त? उनीसँग पनि उत्तर छैन।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालको भनाईबाट भने प्रहरी सिंहदरबारमा आगो लागेमा निभाउने आन्तरिक संयन्त्र रहेकोबारे जानकार देखियो। उनले दुई घण्टाको झडपपछि सिंहदरबार प्रदर्शनकारीको नियन्त्रणमा भएकाले त्यहाँ रहेका ट्याङ्की र हाइड्रेन्टबाट आगो निभाउने अवस्था नै नभएको तर्क गरे। तर भदौ २४ को बेलुका त सिंहदरबारमा प्रदर्शनकारी थिएन। उनको तर्क अनुसार प्रदर्शनकारीको अवरोधले तत्काल आगो निभाउने स्वचालित संयन्त्र प्रयोग हुन नसकेको भए त्यो रात त्यसको प्रयोग किन गरिएन? रातभर सिंहदरबार कसरी जलिरह्यो ? उनीसँग पनि उत्तर छैन।

भ्रष्टाचारको विरोधमा शुरु भएको आन्दोलन सिंहदरबार जलाउने चरणसम्म पुग्नु, सुरक्षामा खटिएको सेनाले प्रदर्शनकारी नरोक्नु, भवनभित्रै आगो निभाउने चालु अवस्थाको प्रणाली हुँदा पनि न कर्मचारीतर्फबाट न सुरक्षा संगठनबाट त्यसको प्रयोग हुनुले सिंहदरबारलाई रातभर जल्नुको घटनाबारे गम्भीर प्रश्न उठेका छन्।

यो केवल परिस्थितिको उपज थियो वा लुकेको कुनै गहिरो षड्यन्त्र? सिंहदरबारको आगो निभाउने प्रणाली चलेन वा जानीजानी चलाइएन ? यो प्रश्नको जवाफ सायद जलेको सिंहदरबारको कालो भित्ताहरूमा नै कैद छ।

असोज २४, २०८२ शुक्रबार ०९:५०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।