लागुऔषधले लट्ठिएको युवासँग प्रहरीबाट लुटिएको पेस्तोल

लागुऔषधले लट्ठिएको युवासँग प्रहरीबाट लुटिएको पेस्तोल

काठमाडौं : काठमाडौंबाट लुटिएको प्रहरीको पेस्तोलसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका-१ का २३ वर्षीय आकाश शाही प्रहरीले प्रयोग गर्ने टाइप-५४ लेखिएको चिनियाँ पेस्तोलसहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीका अनुसार, शाही पक्राउ पर्दा लागुऔषध सेवन गरेर नशामा लठ्ठिएका अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार, शाहीविरुद्ध यसअघि पनि लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको रेकर्ड छ। साथै, मोटरसाइकल चोरीलगायतका अन्य मुद्दा पनि प्रहरीले उनको नाममा दर्ता गरेको जनाएको छ।

गत सोमबार राति आफ्नै गाउँका युवासँग झगडा र हातपात गरेपछि पीडितले इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी  दिएपछि  प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा प्रहरी टोलीले शाहीको घरमा तलासी गरेको थियो। सो क्रममा भान्सा कोठामा रहेको पुरानो बिग्रिएको सोलार पाताभित्र प्रहरीले प्रयोग गर्ने पेस्तोल फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार, उक्त पेस्तोल जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते कोटेश्वर क्षेत्रमा प्रहरीबाट खोसिएको खुलेको प्रहरीले जनाएको छ।

असोज २४, २०८२ शुक्रबार ०८:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।