विश्वकप छनोट : सामोआद्वारा ४३ वरीयता माथि रहेको पपुवा न्यू गिनी पराजित, सिन सोलियाको अर्धशतक

विश्वकप छनोट : सामोआद्वारा ४३ वरीयता माथि रहेको पपुवा न्यू गिनी पराजित, सिन सोलियाको अर्धशतक

एजेन्सी : आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गतको खेलमा सामोआले अप्रत्याशित नतिजा निकाल्दै बलियो टोली पपुवा न्यू गिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ।

सिन सोलियाको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सामोआले यो ऐतिहासिक जित दर्ता गरेको हो।

अल अमारात क्रिकेट ग्राउन्डमा भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ११८ रनको सामान्य लक्ष्य सामोआले १८.३ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो।

सामोआको जितमा 'प्लेयर अफ द म्याच' घोषित भएका सिन सोलियाले मात्र ४५ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६२ रन बनाएर जितको आधार तयार पारे। उनलाई बेन्जामिन माइलाटाले १९ रन बनाएर साथ दिएका थिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सकेको थियो। पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक ३८ रन बनाए भने गाउडी टोकाले २९ रन जोडे।

पीएनजीलाई सस्तैमा समेट्न सामोआका बलर सोलोमन न्यासले घातक बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। डारियस भिसेरले पनि २ विकेट हात पारे।

यो जितसँगै समूह ‘सी’ को सुपर सिक्स समीकरण थप रोचक बनेको छ। पीएनजीले अब आफ्नो अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली ओमानको सामना गर्नेछ। उक्त खेलको नतिजाले नै यस समूहबाट सुपर सिक्समा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ।

यसअघि भएको पहिलो खेलमा ओमानले सामोआलाई पराजित गरेको थियो, जसले गर्दा तीनै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ।

असोज २४, २०८२ शुक्रबार ०७:३०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।