अधिकांश भू-भागमा मौसम सफा रहने, कोशी र गण्डकीका पहाडमा हल्का वर्षाको सम्भावना

अधिकांश भू-भागमा मौसम सफा रहने, कोशी र गण्डकीका पहाडमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार, दिउँसोको समयमा कोशी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आकाश आंशिक रूपमा बदली हुनेछ भने बाँकी तराई तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा भई घाम लाग्नेछ।

यस अवधिमा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।

त्यस्तै, आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी इलाकामा आंशिक बदलीको अवस्था कायम रहनेछ भने देशका अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी प्रदेशको पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ भने बाँकी भू-भागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग तथा गण्डकी प्रदेशका केही पश्चिमी क्षेत्रमा पश्चिमी वायुको असर देखिएको हो। यही मिश्रित मौसमी प्रणालीका कारण देशका केही स्थानमा बदली र वर्षाको अवस्था बनेको हो भने अधिकांश स्थानमा मौसम स्थिर र सफा रहेको छ।

असोज २४, २०८२ शुक्रबार ०७:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।