झन् झन् अराजक

झन् झन् अराजक

काठमाडौं : सुशासन, भ्रष्टाचार अन्त्य र पाको उमेरका नेताको बहिर्गमनलगायतका माग राख्दै जेन-जी पुस्ताले भदौ २३ मा काठमाडौंको नयाँ बानेश्वर केन्द्रित आन्दोलन शुरू गऱ्यो। त्यो दिनको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जना मारिएपछि आन्दोलन भड्कियो।

भोलिपल्ट आन्दोलनले उग्र रूप लियो र विध्वंस मच्चियो। नेपाल प्रहरीको तथ्यांकअनुसार जेन-जीको आन्दोलनका क्रममा असोज २ गते बेलुकासम्ममा ७२ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यअनुसार दुई हजार तीन सय १६ जना घाइते उपचारका लागि अस्पताल पुगेका थिए।

जेन-जीकै आन्दोलनको बलमा सुशीला कार्की ६ महिनाभित्रमा निर्वाचन गर्ने जिम्मेवारीका साथ नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भइन्। यो दुई दिने आन्दोलनमा पहिलो दिनको शैली दोस्रो दिनको भन्दा निकै भिन्न थियो। उकेराकर्मीको स्थलगत रिपोर्टिङका क्रममा देखिएका दृश्यहरू यस्ता थिए :

अस्पतालभित्रै गोली र अश्रुग्यासको वर्षा

२०८२ भदौ २३ गते सोमबार जेन-जीका रूपमा परिचित युवा पुस्ताको आह्वानमा काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन केन्द्रित प्रदर्शन एकाएक हिंसात्मक भयो। बिहान ९ बजेबाट भेला हुन शुरू भएको समूह साढे १० बजेतिर नयाँ बानेश्वर संसद् भवनतिर केन्द्रित भयो। सडकमा राखिएको प्रहरीको ब्यारिकेड तोड्दै जब प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गर्ने प्रयासमा लागे, प्रहरीले बल प्रयोग गर्दा पहिलो दिनमै १९ जनाको ज्यान गयो।

सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकाहरूलाई आन्दोलनकारीहरूले उद्धार गर्दै नजिकै रहेको सिभिल अस्पताल लगिरहेका थिए। घाइतेहरूलाई उनीहरूले एम्बुलेन्स, मोटरसाइकल जे भेटिन्छ त्यसैमा राखेर सिभिल अस्पताल पुर्याइरहेका थिए। कसैले रक्ताम्मे भएका घाइतेलाई हातखुट्टामा समाएर बोक्दै अस्पताल दौडाएको देखिन्थ्यो। २३ गते दिउँसोबाट शुरू भएको यो क्रम बेलुका साढे आठ बजेसम्म उस्तै देखियो।

उकेराकर्मी २३ गते करिब साढे एक बजे सिभिल अस्पताल पुग्दा अस्पतालको आकस्मिक कक्ष र आकस्मिक कक्षसँगै रहेको भुइँतला पूरै घाइतेले भरिएको थियो। बेलुका साढे आठ बजेसम्म उकेराकर्मी सिभिल अस्पतालमा रहँदासम्म घाइते ल्याउने र उपचारका लागि अन्यत्र लैजाने क्रम चलिरहेकै थियो। घाइते पुर्याउन अनि रिफरका लागि अन्यत्र लान सिभिल अस्पताल पुगेका एम्बुलेन्सका सिसा पूरै फुटेका देखिन्थे।

रातीसम्म नै सिभिल अस्पताल बाहिरको सडकमा आन्दोलन र प्रदर्शन जारी थियो। अस्पतालभित्र घाइतेको चापले रणमैदान समान बनेको थियो। सिभिल अस्पतालमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू घाइतेको संख्या र अवस्था देखेर आत्तिएका देखिन्थे।

रक्ताम्मे भएका घाइतेलाई आकस्मिक कक्षभित्र छिराउन भ्याई-नभ्याई थियो। बेडको अभावमा अस्पतालको भुइँमा नै म्याट ओछ्याएर स्वास्थ्यकर्मी र चिकित्सकहरू छटपटाइरहेका घाइतेको उपचार गरिरहेका थिए।

चिकित्सकको टोलीलाई गोली लागेका घाइतेहरूको शरीरबाट गोली निकाल्न भ्याई-नभ्याई देखिन्थ्यो। टाउको, हात र खुट्टाजस्ता शरीरका अंगमा चोट लागेका घाइतेलाई चिकित्सकहरू ब्यान्डेज गरिरहेका थिए। केही घाइते बेडमा थिए, केही भुइँको म्याटमा अनि केही त बेन्चमा।

आकस्मिक उपचारका लागि सुविधाको दृष्टिकोणमा सिभिल त्यति सम्पन्न अस्पताल होइन। तर, त्यही अस्पतालमा सबैभन्दा धेरै घाइते पुर्याइएको थियो, त्यो दिन।

अस्पतालको अवस्थाले पनि आन्दोलनमा झडप भएर घाइतेहरू ल्याउलान् भनेर पूर्वतयारी गरेको जस्तो देखिँदैनथ्यो। त्यसैले त भुइँतलाको खाली भागमा कोही घाइतेलाई बेडको व्यवस्था गरेर राखिएको थियो। रक्ताम्मे भएर छटपटाइरहेका घाइतेलाई पनि बेन्चमा सुताइएको थियो।

सिभिल अस्पतालको भवनभित्र घाइतेको चाप थियो। उता भवन बाहिरको परिसरमा भने आन्दोलनकारीहरू नाराबाजी गरिरहेका थिए। अस्पताल परिसरभित्रै आन्दोलनकारीले नारा लगाएपछि अस्पताल क्षेत्रको संवेदनशीलताको समेत ख्याल नगरी एक हुल प्रहरी सिभिल अस्पताल प्राङ्गणमा नै छिरेर आन्दोलनकारीमाथि लाठीचार्ज गरिरहेका थिए।

यति मात्रै होइन, प्रहरीले अस्पताल परिसरको ख्यालै नगरी बेलुकैसम्म अश्रुग्या हानिरहेको थियो। अश्रुग्यासको प्रभावले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीसमेत प्रभावित भएका थिए। सिभिल अस्पतालको अवस्था गाजा क्षेत्रको अस्पतालमा इजरायली सुरक्षा फौजले आक्रमण गर्दाको जस्तै दृश्य बनेको थियो। दृश्य भयावह नै थियो।

प्रहरीले चलाएको गोली अस्पताल परिसरभित्र समेत आइपुगेको थियो। धन्न त्यसले कसैलाई लागेन, अस्पतालको सिसामा लाग्यो।

त्यो २३ गते बेलुकीसम्म पनि सिभिल अस्पतालको प्राङ्गणबाट निस्कन कठिन थियो। अस्पतालका सुरक्षा गार्डले आन्दोलनकारीलाई गेटबाहिर रोक्न सक्ने अवस्था थिएन। उनीहरू भित्र छिरेपछि प्रहरीले अस्पताल हो भनेर अश्रुग्यास हान्न छाडेका थिएनन्।

प्रहरीसँगै आन्दोलनकारीहरूले समेत आफू अस्पतालको परिसरभित्र रहेको ख्याल गरेनन्। उनीहरूले अस्पताल परिसरभित्रबाटै प्रहरीलाई ढुंगा हानिरहेका थिए। अनि प्रहरीले पनि उनीहरूतिरै ढुंगा फ्याँकिरहेको थियो।

हुन त आन्दोलनले उग्र रूप लिएपछि २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वर क्षेत्रमा आवतजावतसमेत गर्न नमिल्ने गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाइसकेको थियो। प्रहरी सडकमा थिए। त्यसैले बेलुकासम्म पनि आन्दोलनकारीहरू अस्पताल परिसरमै नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुढा गरिरहेका थिए, जसले गर्दा सिभिल अस्पताल क्षेत्र थप अशान्त बनेको थियो।

उता अस्पतालको आकस्मिक कक्षमा पनि उस्तै भीड थियो। चिकित्सकहरूले सम्भव भएसम्मका घाइतेहरूको उपचार गरिरहेका थिए। आवश्यकताअनुसार घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत अन्य अस्पतालमा रिफर गरेको देखिन्थ्यो। सिभिलमा भने घाइतेको चाप थेगिनसक्नु थियो। २३ गते बेलुकासम्ममा सिभिल अस्पतालमा घाइते भएर पुर्याइएकामध्ये तीन जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो।

यी सबै घटना प्रत्यक्ष हेर्दाहेर्दै रात परिसकेको थियो। चिन्ता अब कसरी सकुशल घर पुग्ने भन्ने नै थियो। बल्लतल्ल भित्री बाटो प्रयोग गरेर घर पुगियो।

घर पुग्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ गते साँझ ८ बजेसम्ममा आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना गरी १९ जनाको मृत्यु भएको विवरण थाहा भयो। त्यो बेलासम्ममा ४ सय २२ जना घाइते भइसकेका थिए। १९ दिनको जनआन्दोलनमा जम्मा २३ जनाको मृत्यु भएर गणतन्त्र आएको देशमा एकै दिनमा यत्रो मृत्यु अनि यति धेरै घाइते? जब बेलुका ओछ्यानमा पसेँ, दिनभरका दृश्यले निदाउन कठिन भयो।

आन्दोलनको विध्वंसले बढाएको धड्कन

भदौ २४ गते मंगलबार आन्दोलनको प्रकृति कस्तो हुने होला? विध्वंसका संकेतहरू देखिइसकेका थिए। कतै हिंसात्मक त हुने होइन? शंका त थियो तर यति धेरै विध्वंसात्मक होला भन्ने कल्पना बाहिरको विषय भयो।

भोलिपल्ट बिहानैबाट काठमाडौं उपत्यकामा आन्दोलनकारीले सडक र चोक-चोकमा टायर लगायत जे भेट्यो त्यही बाल्न थाले। कर्फ्युको प्रवाह नगरी २४ गते काठमाडौंमा मात्र होइन, बाहिरका विभिन्न जिल्लामा बिहानैबाट आन्दोलनकारीहरू सडकमा उत्रिए।

२४ गते बिहान उठ्दा कर्फ्यु लागिसकेको थियो। सञ्चारकर्मीको आवागमनको व्यवस्थापन के हो, कतैबाट खुलेको थिएन। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भदौ २४ गते बिहान ८:३० बजेदेखि काठमाडौं उपत्यकाको चक्रपथभित्र लागू गरेको कर्फ्यु तोड्दै कलंकी, बल्खु, कालीमाटी, कोटेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चक्रपथ, जमल, बालाजुलगायतका क्षेत्रबाट आन्दोलनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवन केन्द्रित हुन थाले।

जे त होला भनेर ‘प्रेस’ लेखिएको ज्याकेट र घाँटीमा कार्ड झुन्ड्याएर बिहान करिब दश बजे घरबाट निस्किएँ। अस्पताल पुगेर विशेषगरी २३ गते आन्दोलनका क्रममा घाइते भएकाको अवस्था बुझ्ने लक्ष्य थियो।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा घाइतेहरू रहेकाले सिनामंगल पुल हुँदै त्यतै जाँदै थिएँ। त्यही बेला सडक टायरको धुवाँले छेकिइसकेको थियो। केएमसी अस्पताल पुग्दा २३ गते ३२ जना घाइते पुर्याइएकोमा दुई जनाको मृत्यु भएको खुल्यो। अन्य डिस्चार्ज भएर २४ गते २४ जना उपचाररत थिए।

२०८१ चैत १५ को आन्दोलनका घाइतेको उपचार सरकारले बेहोर्ने भने पनि यही अस्पतालले पैसा नलिई डिस्चार्ज गरेको थिएन। २४ गतेको अवस्था पनि उस्तै देखियो। स्वास्थ्य मन्त्रालयले उपचार निःशुल्क भने पनि केएमसी अस्पतालले औषधिको भने पैसा लिइरहेको थियो।

केएमसीपछि नयाँ बानेश्वर चोकमा रहेको सिभिल अस्पताल पुग्न गएकै बाटो फर्किएँ। तर, सिभिल अस्पतालका एक कर्मचारीसँग सम्पर्क गर्दा उनले ‘यता नआउनुहोस्, जोखिम छ’ भने।

कारण खुलाउँदै ती कर्मचारीले आन्दोलनकारीहरूले संसद् भवन छिरेर कब्जा गरेको र सिभिल अस्पतालअगाडिको यातायात व्यवस्था विभागको भवन जलाउँदा पूरै धुवाँको कुइरीमण्डल बनेको बताए।

२३ गते सोमबार दिनभरि सिभिल अस्पतालमै बिताएको थिएँ। प्रहरी र आन्दोलनकारीको चेपुवामा पर्दा अस्पतालभित्रै गोली र अश्रुग्यास आएको सम्झिएँ। जति प्रयास गर्दा पनि २३ गते बेलुकासम्म अस्पतालबाट बाहिर निस्कनै नसकिएको सम्झिएँ। त्यसैले त्यहाँका कर्मचारीले अस्पतालअगाडि विध्वंस मच्चिरहेको अवस्था बताएपछि २४ गते भने मलाई सिभिल अस्पताल जाने आँट आएन।

अनि केएमसीबाट फर्किएर सिनामंगल पुल, पुरानो बानेश्वर चोक, सेतो पुल हुँदै सिंहदरबारको दक्षिण गेटअगाडिबाट बबरमहल निस्किएँ। यो रुटमा हिँड्दा सडकमा टायरहरू बलिरहेकै थिए। प्रहरी भने सिंहदरबार आइपुगेपछि मात्र देखेँ।

बबरमहल पुग्दा माइतीघरतर्फबाट ठूलो संख्यामा आन्दोलनकारी नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको देखिन्थ्यो। उनीहरूले उग्र नारा लगाइरहेका थिए। सडकमा एम्बुलेन्स दौडिरहेका थिए। काठमाडौं महानगरपालिकाको गाडी नगर प्रहरीसहित पानी बाँड्दै ओहोरदोहोर गरिरहेको देखिन्थ्यो। महानगरको गाडी देख्नेबित्तिकै प्रदर्शनकारीहरूले ‘बालेन दाइ...’ भन्दै नारा लगाउँथे।

केही बेरमा बबरमहलबाटै नयाँ बानेश्वरको आकाशमा धुवाँको मुस्लो देखियो। त्यो धुवाँको मुस्लो चीन सरकारले उपहारमा दिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्दाको रहेछ। अहिले संसद् भवनका रूपमा परिचित भवनमा प्रदर्शनकारीले आगो लगाइदिएका रहेछन्।

म बबरमहलबाट नयाँ बानेश्वरतर्फ लागेँ। तर, २४ गतेको सडकको दृश्य अघिल्लो दिनको भन्दा भिन्न देखिन्थ्यो। सडकमा कोही युवा हातमा खुकुरी नै लिएर हिँडेका देखिन्थे। कसैको हातमा रड थियो त कसैको हातमा पिक, ह्यामर, बन्चरो जस्ता हतियार थिए। कयौं आन्दोलनकारीहरूको हुलिया डरलाग्दो र अस्वाभाविक देखिन्थ्यो। उनीहरू निश्चित मिसनमा हिँडेको प्रस्टै देखिन्थ्यो।

हिम्मत गरेरै नयाँ बानेश्वर चोकतर्फ गइरहेको थिएँ। तर, नयाँ बानेश्वर चोक नपुग्दै ड्याङड्याङ र डुमडुम आवाज आयो। रमिते र आन्दोलनकारीहरू आत्तिएर चिच्याउँदै ‘गोली चल्यो...’ भन्दै बिजुलीबजार पुलतर्फ भागे। म पनि एभरेस्ट अस्पताल नजिकैको गल्लीबाट छिरेर शंखमूलतर्फ लागेँ। त्यहीँबाट भित्री बाटो हुँदै घुमेर केही बेरमा बिजुलीबजार पुल निस्किएँ।

म नयाँ बानेश्वरतर्फ जाँदा आन्दोलनकारीहरू नयाँ बानेश्वरतिरै गइरहेका थिए। केहीबेरमा घुमेर फर्कँदा भने नयाँ बानेश्वरतर्फबाट सरकारविरुद्ध चर्को नारा लगाउँदै माइतीघरतर्फ फर्किरहेका थिए।

सेतो सर्टमा कालो कोट लगाएका जो कोही देखे पनि आन्दोलनकारीहरू ‘भ्रष्ट वकिल, अब ठीक पार्नुपर्छ’ भन्दै चिच्याइरहेका थिए। मेरो पनि सेतै सर्ट थियो। ‘प्रेस’ लेखिएको ज्याकेट त बोकेको थिएँ, तर लगाइनँ। पत्रकारको परिचयपत्र पनि घाँटीमा झुन्ड्याइनँ, किनकि पत्रकारको परिचयले थप असुरक्षित बनाउने जोखिम देखियो। त्यसैले पत्रकार नभई रमिते बनेर बबरमहल क्षेत्रमा फोटो खिचिरहेँ।

दिउँसो दुई बजेपछि आन्दोलनकारीको ठूलो भीड बबरमहल क्षेत्रमा नै केन्द्रित भयो। आक्रोशित समूहले केही बेरमा बबरमहलको आर्ट काउन्सिलअगाडि सडकमा टायर बाल्यो। केही बेरमा नै आन्दोलनकारीले बबरमहलमा रहेका जिल्ला प्रशासन कार्यालयलगायत सरकारी भवनहरूमा आगो लगाइदिए। एक छिनमा बबरमहल क्षेत्र धुवाँको मुस्लोले कुइरीमण्डल बन्यो। धुवाँले आँखा पोल्न थाल्यो।

बबरमहलमै सडकमा केही युवाहरू बन्दुक बोकेर हाइहाई र हुइहुई गर्दै बाइकमा ओहोरदोहोर गरिरहेका थिए। तीमध्ये कसैले मास्क त कसैले हेल्मेट लगाएका थिए भने हुलिया हेर्दा जेन-जी समूहका देखिँदैनथे। कोही कुर्सीमा लुगा झुन्ड्याउने ह्यांगर लिएर हिँडिरहेका थिए। कोही, ल्यापटप, कम्प्युटर, फ्यान, तामाका गाग्रा बोकेर हिँडिरहेका थिए। ती कतै लुटिएका सामान हुन् भन्ने ठम्याउन समय लागेन।

धुवाँको मुस्लो बढिरहेको थियो। बबरमहल क्षेत्रमा देखिएका दृश्यले मेरो मुटुको धड्कन पनि बढाइरहेको थियो।

केही बेरमै सखाप

धुवाँको मुस्लो छिचोल्दै भित्री गल्ली हुँदै सिंहदरबारको दक्षिण गेटनजिक पुग्दा गेटैमा धुवाँको मुस्लो देखियो। सिंहदरबारभित्रबाट समेत धुवाँको मुस्लो आइरहेको थियो।

२४ गते बिहान जाँदा सिंहदरबारसँगैको हनुमानथानमा सेना र प्रहरी थिए। तर, साँझमा पुग्दा त्यहाँ कोही थिएनन्। त्यहाँ पनि हातमा रड, लौरो, खुकुरी जस्ता हतियार बोकेर कोही मोटरसाइकलमा त कोही हाइहाई र हुइहुई गर्दै प्रदर्शनकारीहरू उग्र रूपमा हिँडिरहेका थिए। स्थिति भयावह थियो। त्यो बेलासम्ममा जेन-जीको आन्दोलनका नाममा उत्रिएको अराजक समूहले राज्यको कानुन बनाउने थलो व्यवस्थापिका, कानुन कार्यान्वयन गर्ने कार्यपालिका र न्याय निरूपण गर्ने न्यायपालिकाजस्ता राज्यका तीनवटै अंगका मुख्य भवनहरू जलाएर ध्वस्त बनाएको थियो।

आन्दोलनकारीले न कार्यपालिकाको केन्द्र सिंहदरबार बाँकी राखे, न व्यवस्थापिकाको संसद् भवन नै छाडे, न त न्याय सम्पादन गर्ने सर्वोच्च अदालत, विशेष अदालत अनि जिल्ला अदालत नै। प्रधानमन्त्री अनि मन्त्रीहरूका सरकारी निवास जलाइए। यी सबै नागरिककै कर खर्च गरेर निर्माण गरिएका थिए।

चीनको उपहारको संसद् भवन भोलिका दिनमा पनि चाहिन्थ्यो नै। सिंहदरबारमा पुगेकाहरू भ्रष्ट नै भए पनि भोलिका दिनमा परिवर्तन चाहने जेन-जी पुस्ताकै प्रतिनिधि सरकार चलाउने जिम्मेवारीमा पुग्दा चाहिने प्रशासनिक थलो त यही नै हो। इतिहासमा कहिल्यै न्यायपालिकामाथि आक्रमण भएन। तर, प्रमाण नष्ट गर्ने नियोजित योजनामा सर्वोच्चलगायतका अदालतमा आगजनी गरियो।

२४ गते बेलुकाको करिब ६ बजेतिर बबरमहलस्थित रातो भाले नजिकै रहेको साथीको कार्यालयमा पुगेँ। अनि भित्री बाटो हुँदै डराउँदै घर आइपुगेँ। घर पुगेको केही समयमा अर्को सूचना आयो, ‘स्वास्थ्य मन्त्रालय त जलाएर खरानी बनाएछन् नि!’ स्वास्थ्य मन्त्रालय पनि आन्दोलनकारीले जलाएर ध्वस्त बनाइदिएछन्।

करिब चार वर्षदेखि नियमित स्वास्थ्य खरिदको रिपोर्टिङ गर्दा भएका अनियमितताका विवरण फनफनी घुम्यो। दिक्क लाग्यो।

जेन-जी पुस्ताले भ्रष्टाचारको विरोधमा आन्दोलनको आह्वान गरेको थियो। तर, भोलि उनीहरूले नै स्वास्थ्य मन्त्रालयमा हुने भ्रष्टाचारको छानबिन गर्नुपऱ्यो भने स्वास्थ्यमा भएको भ्रष्टाचारको प्रमाण फेला पर्ने भवन नै जलाएर ध्वस्त बनाइदिए। जुनसुकै समयमा पनि अत्यावश्यक हुने स्वास्थ्य मन्त्रालयसमेत जलाएर ध्वस्त बनाइदिए आन्दोलनकारीले।

जलेको सिंहदरबार : जेन-जी आन्दोलनको जीतको प्रतीक कि कलंक?

भदौ २५ र २६ गते पनि रिपोर्टिङकै लागि खटिएँ। भदौ २३ र २४ गते जेन-जी पुस्ताको नाममा भएको आन्दोलनमा अराजक समूहको घुसपैठ भएर आन्दोलनले उग्र रूप लिँदा विध्वंस मच्चियो। व्यक्तिगत सम्पत्तिसँगै सार्वजनिक सम्पत्तिहरू समेत नष्ट गरियो।

२०४६ को आन्दोलन होस् या २०६२/६३ को, सडकका रेलिङ तोडफोड र केही प्रहरी कार्यालय जलाउनेबाहेक यति ठूलो संख्यामा कहिल्यै सार्वजनिक सम्पत्ति नष्ट गरिएन। निर्मल निवास, राजतन्त्र पक्षधरहरूको निवासलगायत अधिकांश राजतन्त्र पक्षधरहरू सुरक्षित रहँदा देशको सार्वजनिक सम्पत्ति ध्वस्त पारियो। विशेषगरी सत्तारुढ दलका नेताहरूलाई ज्यान जोगाउनै मुस्किल पऱ्यो।

२५ गते बुधबार कर्फ्यु लागेकै अवस्थामा दिउँसो स्वास्थ्य मन्त्रालय पुग्दा अघिल्लो दिन लागेको आगो निभिसकेको थिएन। मन्त्रालयमा लागेको आगो निभाउन राज्यको कुनै संयन्त्रले काम गर्न सकेन। मन्त्रालयभित्र रहेका सम्पूर्ण कागजात लगायतका भौतिक सामग्री जलेर ध्वस्त भइसकेका थिए।

आगो लाग्न थालेपछि कर्मचारी भने मन्त्रालय पछाडिबाट पर्खाल नाघेर भाग्दा मानवीय क्षति हुनबाट रोकियो। आन्दोलनको क्रममा घाइते तथा मृतकको अद्यावधिक र उपचारमा समन्वय गरिरहेको मन्त्रालयको ‘हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी)’ को टोली पनि मन्त्रालयबाट भाग्नु परेको थियो। मन्त्रालयको जलेको त्यो खण्डहर र खरानीको दृश्यले मन पोल्यो।

केही गरे पनि आन्दोलन धान्ने अवस्था नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ गते बेलुका मात्रै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिइसकेका थिए। ओली नेतृत्वका मन्त्रीहरूलाई सेनाले उद्धार गरेको थियो। ओलीले राजीनामा दिएपछि सरकार पनि कामचलाउ बन्यो। सेना रहस्यमय रूपमा निष्क्रिय बसिदियो। अनि मनमा प्रश्न उठ्यो, ‘के यी सार्वजनिक सम्पत्ति परिवर्तनको माग गरिरहेका जेन-जी पुस्ताले नै जलाएका हुन् त?’

'शहीद'को टाउको र छातीमा गोली

जेन-जी पुस्ताको आन्दोलनको पहिलो दिन नयाँ बानेश्वर क्षेत्रमा गोली लागेर मृत्यु भएका अधिकांशको छाती र टाउकोमा गोली लागेको पोस्टमार्टम रिपोर्टले खुलासा गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा मृतकहरूको छाती र टाउकोमा गोली लागेको भेटिएको हो।

पोस्टमार्टमबारे जानकार स्रोतका अनुसार, गोली लागेका मृतकहरूमध्ये पनि अधिकांशको छातीमा गोली लागेको थियो। प्रहरीको भीड नियन्त्रण विधिअनुसार अन्तिम अवस्थामा गोली चलाउने र गोली चलाउँदा पनि कम्मरमुनि हान्नुपर्ने भए पनि अधिकांशको शरीरका संवेदनशील अंगहरूमा गोली लाग्दा मृतकको संख्या बढ्यो। आन्दोलनको पहिलो दिनमै १९ जनाको मृत्यु भइसकेको थियो।

‘सबै मृतकको कम्मरभन्दा माथि, प्रायः टाउको र छातीमा गोली लागेको छ,’ स्रोतले भन्यो, ‘त्योभन्दा तल लागेको भए त मान्छे मर्ने थिएनन् नि!’

जानकार स्रोतका अनुसार अधिकांशको शरीरको अगाडिको भाग र केहीको पछाडिको भागबाट गोली लागेको थियो।

‘छातीमा गोली लागेकामध्ये मुटुमा लाग्नेहरूको संख्या धेरै थियो। प्रहरीले बल प्रयोग गर्दा एसएलआर र इन्सासबाट गोली चलाएको थियो। एसएलआर निकै घातक हतियार हो। यसले गोली लाग्दा गोली निस्कने शरीरको भागमा ठूलो भ्वाङ पार्छ। केही मृतकहरूको शरीरको अवस्था यस्तै थियो’, स्रोतले बतायो।

पोस्टमार्टममा कति दूरीबाट गोली हानेको हो भन्नेसम्म अनुमान गर्न सकिन्छ। जानकार स्रोतका अनुसार अधिकांश मृतकमाथि टाढाबाट गोली हानेको देखिन्छ। काठमाडौं उपत्यकामा आन्दोलनमा मारिएकाहरूको पोस्टमार्टम महाराजगन्ज चिकित्सा क्याम्पसअन्तर्गतको फरेन्सिक विभागमा भएको थियो। विभागले ४६ वटा शव पोस्टमार्टम गरेकोमा दुई जना महिला र बाँकी सबै पुरुषको शव थियो। पोस्टमार्टमका लागि पुर्याइएकामध्ये अधिकांश १६ देखि ४३ वर्षसम्मका थिए।

महिना बित्यो तर

भ्रष्टाचारको विरोधमा सुरु भएको जेन-जी पुस्ताको आन्दोलनको एक महिना पुग्यो। आन्दोलनकारी शक्तिबाट प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीसँग ध्वस्त भएको संरचनाको पुनर्निर्माण मात्रै हैन समाजलाई जोड्नु पनि छ। सुरक्षा संयन्त्रलाई बलियो बनाएर कानुनी राज्यको पुनर्स्थापना गर्ने जिम्मेवारी समेत छ।

तर प्रधानमन्त्रीमा नियुक्त एक महिनासम्म पनि यो पक्षमा सरकारले काम गर्न सकेको छैन। समाजमा द्वन्द्व बढ्दै गइरहेको छ। सडकमा सुरक्षामा खटिने प्रहरी कुटिँदा सडक सुरक्षाहीन बन्दै गइरहेका छन्।

६ महिनाभित्र निर्वाचनको जिम्मेवारीसहित सरकार बनेको एक महिना बित्दा समेत मन्त्रीपरिषद् समेत पूर्ण हुन सकेको छैन। कानुनी शासन हैन सरकार र समाजमा अराजकता झन् झन् बढ्दै गइरहेको छ।  के जेन-जी आन्दोलनको लक्ष्य यही थियो त!

उकेरा म्यागजिन कोल्याप्सका सामग्री

असोज २३, २०८२ बिहीबार १७:२१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।