माइतीघरमा अर्को आन्दोलन भएपछि सुरक्षा माग्दै प्रहरीमा पुग्यो सरिस्माको टोली

माइतीघरमा अर्को आन्दोलन भएपछि सुरक्षा माग्दै प्रहरीमा पुग्यो सरिस्माको टोली

काठमाडौं : विगत एक महिनादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत सरिस्मा थापाले आफ्नो र आन्दोलनमा सहभागीहरूको सुरक्षामा खतरा रहेको भन्दै सरकारसँग सुरक्षा माग गरेकी छिन्।

सोही स्थानमा आज अर्को समूहले प्रदर्शन गर्न लागेको जानकारीपछि उनले काठमाडौं प्रहरी परिसरसँग यस्तो माग गरेकी हुन्।

‘जेन-जी’ आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरू र अन्य नागरिकहरूसहित २०८२ भदौ २८ गतेदेखि माइतीघरमा धर्नामा बसेकी थापाले उक्त दिन हुन लागेको अर्को कार्यक्रमले आफ्नो शान्तिपूर्ण आन्दोलनमा असर पुग्नसक्ने चिन्ता व्यक्त गरेकी छन्।

‘विभिन्न सामाजिक सञ्जालहरूबाट असोज २३ गते यस क्षेत्रमा अर्को आन्दोलन हुने जानकारी प्राप्त भएको छ,’ अपिलमा भनिएको छ, ‘उक्त आन्दोलनले हाम्रो शान्ति र सुरक्षामा असर पुर्याउन सक्ने देखिएकाले नेपाल सरकारको गृह मन्त्रालय, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, र काठमाडौं प्रहरी परिसरलाई सो कार्यक्रम अन्यत्र सार्न वा हामीलाई शान्ति सुरक्षा उपलब्ध गराउन नम्र अनुरोध गर्दछौँ।’

थापाले आफ्नो समूहले प्रधानमन्त्रीसँग भेट्न प्रयास गरे पनि समय नपाएको गुनासो गरेकी छन्। यद्यपि, आन्दोलनकै क्रममा गृह मन्त्रीसँग भएको छलफलबाट केही महत्त्वपूर्ण मागहरू पूरा भएको उनले जानकारी दिएकी छन्।

‘हालसम्म हाम्रा चारवटा माग मात्र पूरा भएका छन्, तर बाँकी मागहरूको सुनुवाइ भएको छैन। त्यसैले हाम्रा बाँकी मागहरू पूरा नभएसम्म हामी यहाँबाट हट्ने अवस्था छैन’, अपिलमा उल्लेख छ।

उक्त अपिलमा सरिस्मासँगै प्रशान्त पौडेल, अनमोल थापा र दीपकजङ्ग अधिकारीले पनि हस्ताक्षर गरेका छन्।

असोज २३, २०८२ बिहीबार १२:४८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।