कोशी, बागमती र कर्णालीका नौ राजमार्गमा अझै यातायात ठप्प

काठमाडौं : वर्षाका कारण आएको बाढीपहिरोले यातायात अस्तव्यस्त बनेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका नौ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी राजमार्ग प्रभावित भएका छन्। संखुवासभाका दुई स्थानमा कोशी राजमार्ग, इलाममा मेची राजमार्ग र पाँचथरमा तमोर करिडोर अवरुद्ध भएको छ।
यसैगरी, बागमती प्रदेशअन्तर्गत रसुवामा पासाङ ल्हामु राजमार्ग तथा काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न स्थानमा बीपी राजमार्ग अवरुद्ध भएको छ।
कर्णाली प्रदेशमा पनि कर्णाली करिडोरका दुई खण्डमा यातायात ठप्प छ। हुम्लाको खार्पुनाथ र कालिकोटको पचालझरनामा पहिरो खस्दा करिडोर पूर्ण रूपमा बन्द भएको हो।
प्रहरीले दिएको जानकारीअनुसार धनकुटाको कोशी लोकमार्ग तथा मकवानपुरको भीमफेदी र बकैयास्थित कान्ति लोकपथका दुई खण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ।
प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी राखेको जनाएको छ।
असोज २३, २०८२ बिहीबार १२:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।