बौद्धिक अपाङ्गता भएकी अस्मिता र उनकी आमाको २३ वर्षे संघर्ष, भन्छिन्- ‘म पछि छोरीको के होला?’

बुटवल : बुटवल सुख्खानगरकी २३ वर्षीया अस्मिता पराजुली, एक बौद्धिक अपाङ्गता भएकी युवती। उनी सांकेतिक भाषामा कुरा गर्छिन्। शब्द उच्चारण गर्न जबरजस्ती खोज्छिन्, तर मुखबाट निस्कँदैन। कहिले हाँस्छिन्, अनि त्यहीबेला झट्टै रिसाइहाल्छिन्।
रिसाउँदा उनलाई सम्हाल्न कठिन पर्छ। हात जोडेर माफी नै माग्नुपर्छ। मायालु भावले फकाउनुपर्छ, तब मात्र उनी शान्त रहन्छिन्। उनको हिँडाइ पनि आम मानिसको जस्तो स्वाभाविक छैन, तर पनि उनी हिँडिरहन्छिन्- घरका कोठा-कोठा, छत अनि घरवरपरको गल्ली।
अस्मिता बोल्दिनन्, तर धेरै कुरा बुझ्न सक्छिन्। मःम खाने? चाउमिन खाने? आइसक्रिम खाने? खाना खाने? यी प्रश्न उनी सहजै बुझ्छिन्। खान मन लाग्दा संकेत गर्छिन्। उनी आफूलाई मन लागेको खानेकुरा किन्न आफैँ जान्छिन्। उनको मनले जे देख्यो, त्यही गर्छिन्।
बौद्धिक अपाङ्गता रहेकी उनै अस्मिताको दैनिक स्याहार र घरको काममा दिन बिताउँछिन् उनकी आमा सीता। अस्मिताका हरेक गतिविधिलाई उनी संकेतबाटै बुझ्छिन् सीता। अस्मिता घरकी कान्छी छोरी हुन्। उनका दुई दाजुहरू विष्णु र गणेश छन्। अचम्मको कुरा के छ भने आमाले परिवार नियोजन गरेको ५ वर्षपछि गर्भमा आएकी हुन् अस्मिता।
दुई छोराहरू विष्णु र गणेशको जन्म भएपछि सीताले ०५४ सालमा गुल्मीकै मजुवामा आएको घुम्ती शिविरमा परिवार नियोजन गरिन्। तर ५ वर्षपछि गर्भ रह्यो। गर्भ रहेको पनि थाहा पाउन पनि पाँच महिना लाग्यो।
गर्भमा आएको बच्चा छोरी नै भए अझ पराजुली परिवारको ‘सुन्दर संसार’ हुन्छ भन्ने उनीहरूलाई लाग्यो। बच्चा जन्माउने निर्णयमा पराजुली दम्पती पुगे। नभन्दै छोरी नै जन्मिइन्। परिवारमा खुसी छायो।
तर, जन्मेको एक हप्तापछि उनको शरीर जन्डिस भएजस्तो पहेँलो भयो। सीताले गाउँकै एक मेडिकलमा गएर बच्चालाई देखाइन्। मेडिकलवालाले धुलो औषधि पानीमा घोलेर खुवाउन भने। उनले पनि त्यसै गरिन्।
समयसँगै अस्मिताको वृद्धि-विकास भएन। ६ महिना हुँदा समेत उनले शरीर मात्र चलाउने गर्थिन्। १० महिना बित्यो, त्यो बेलासम्म पनि शरीर कोल्टो फेर्ने तर टाउको चलाइनन्। त्यसपछि उपचारका लागि सीताले छोरीलाई चितवनको भरतपुर अस्पताल लगिन्।
उपचारमा डाक्टरले ‘छोरी सामान्य बच्चाजस्तो छैन’ भनेपछि उनी छाँगबाट खसेजस्तै भइन्। उनलाई एउटा डाक्टरले भनेको चित्तै बुझेन। अर्कोले सही उपचार गर्छ कि भनेर उनी काठमाडौंको टिचिङ र टेकु अस्पतालसम्म पुगिन्, डाक्टरले निको नहुने भन्दै फर्काइदिए।
जस्तो भए पनि सन्तान त आफ्नै हो, माया लागिहाल्छ नि! सीता छोरी अस्मिताको मायाले उनलाई हुर्काउन लागिन्। केही वर्ष सीताको परिवार चितवनमै घर बनाएर बस्यो, पछि फेरि बसाइँसराइ गरेर बुटवल आयो।
‘८ वर्षसम्म सर्पले झैँ घिस्रेर हिँड्थिन्। पछि शारीरिक विकास भएपछि केही भए पनि सुधार भयो’, उनी भन्छिन्।
अहिले पनि अस्मिता एक ठाउँमा बस्दिनन्। रिस उठ्यो भने अगाडि जे भेटियो त्यसैले हान्छिन्। बढी होहल्ला हुँदा आक्रामक हुन्छिन्। उनलाई गीत सुन्न, भिडियो हेर्न मन लाग्छ। ‘उनलाई मन पर्ने भनेको टिकटक हेर्न हो। उनी भिडियोहरूमा नाचेको देख्दा खुबै खुसी हुन्छिन्’, आमा सीताले भनिन्।
२३ वर्षदेखि दिनरात छोरीको सुसारमा लागेकी सीतालाई छोरीसँगै लिएर गएर कहीँ बाहिर रात काटौँला भन्ने सपनाजस्तै लाग्छ। ‘छाडेर कहाँ जानु? लिएर हिँड्दा उनले भने झैँ भएन भने झन् सम्हाल्न गाह्रो पर्छ। त्यसैले घर छाडेर रात बिताएकी छैन’, सीताले भनिन्।
उनलाई चौबीसै घण्टा रेखदेख गर्नुपर्छ। आवेगमा हुँदा ग्यास चुलो बाल्ने, हिटर चलाउने समेत गर्छिन्। सधैँ चनाखो भएर उनीसँगै आमा सीताले दिनहरू बिताउँछिन्।
सीतालाई अझै पनि छोरीको भविष्य के हुन्छ भन्ने पीर छ। आफू बाचुन्जेल छोरी साथमा रहे पनि आफूपछि कसले रेखदेख गर्ला? उनलाई यही कुराले सधैँजसो बढी पिरोल्दै आएको छ। ‘झन झन कठिन दिनहरू आउँदैछन्। रिस उठ्दा सम्हाल्न सकिँदैन। आफूले सकुन्जेल त सुसार गरुँला, तर नसक्दा के गर्ने?’, उनले भनिन्।
सीता आफूजस्ता बौद्धिक अपाङ्गता भएका बच्चाहरूलाई सरकारले आवासीय सुविधा दिएर राख्नुपर्ने बताउँछिन्। अस्मिताले नेपाल सरकारबाट पूर्ण अपाङ्गताको रातो कार्ड पाएकी छन्। रातो कार्ड हुनेले भत्तास्वरूप मासिक चार हजार रूपैयाँ पाउँछन्। अस्मिताले पनि मासिक चार हजार पाउँदै आएकी छिन्।
‘चार हजारले केही हुँदैन। एक जना पूर्णकालीन सहयोगी भएर उनीसँगै रहनुपर्छ। त्यसैले सरकारले अभिभावकलाई समेत हेर्नुपर्छ’, उनले भनिन्।
अस्मिता कुनै समय बुटवलको सुस्तमनस्थिति बाल विद्या मन्दिर स्कुलमा दिनभर भुल्ने गरे पनि अहिले भने जान मान्दिनन्। जसोतसो परिवारले पुर्याए पनि स्कुल छाडेर घर आउँछिन्। किन हो खै, आजकल अस्मितालाई स्कुल मन पर्न छाडेको छ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उनी स्कुलमा रमाउँदा आमा सीतालाई पनि धेरै सहज भएको थियो। स्कुल पठाएपछि अस्मिताको आनीबानीमा केही सुधार भएको आमा सीता पराजुली बताउँछिन्।
‘स्कुल गएपछि केही आनीबानीमा सुधार भएको थियो। शौचालय जान, हात धुन, चप्पल लगाउन सिकेकी छिन्। तर अहिले स्कुल जानै मान्दिनन्’, उनले भनिन्।
अस्मिता पढ्ने दिवा सेवा कक्षामा उनीजस्तै अहिले पनि ४२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू छन्। त्यस्तै, विद्यालयले घुम्ती सेवा समेत गर्दै आएको छ।
जो अपाङ्गता भएका विद्यार्थीहरू ‘डे केयरमा’ आउन सक्दैनन्, उनीहरूलाई विद्यालयले घुम्ती सेवामार्फत शिक्षाको पहुँचमा राखेको छ। घुम्ती सेवामा ४० जना छन्। सैनामैना शाखामा ४५ जना छन्। गैडहवा गाउँपालिकामा ४० जनामा घुम्ती सेवा ३ वर्षदेखि चलेको छ।
मायादेवी गाउँपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा डेढ वर्षदेखि घुम्ती सेवामार्फत ३८ जना रहेका छन्। बौद्धिक अपाङ्गता भएकाहरूलाई शिक्षामा पहुँच पुर्याउने, आवासीय विद्यालय बनाउने अभियानमा विद्यालय लागेको छ।
सुस्तमनस्थिति भएका बालबालिकाका अभिभावकको पहलमा सञ्चालनमा आएको यो स्कुलले सीताजस्ता धेरै अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूलाई केही भए पनि खुसी दिएको छ। आफ्ना जस्तै अरूका सन्तान देखेर अनुभव साटासाट गर्न पाउँदा सीता पनि खुसी छिन्। बेलाबेला अहिले पनि सीता स्कुल पुगिरहन्छिन्।
असोज २३, २०८२ बिहीबार ११:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।