चितवनको राप्तीमा स्कुटरले ठक्कर दिँदा युवकको मृत्यु

चितवन : चितवनको राप्ती नगरपालिकामा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार साँझ भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राप्ती नगरपालिका-२ सिमराचोकमा बा.प्र ०२ ०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिँदा रौतहटको माधव नारायण नगरपालिका-८ का २४ वर्षीय रुपेश राय यादवको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका यादवको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार राति पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-२ कै १८ वर्षीय दिपेश गौतम पनि घाइते भएका छन्। उनको नाक र टाउकोमा चोट लागेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले ठक्कर दिने स्कुटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
असोज २३, २०८२ बिहीबार १०:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।